
लुइँटेल नयाँगाउँ सडक : दोस्रो पटक म्याद थपको तयारी
किरण लोहनी :
गोरखाको लुईटेल भञ्ज्याङ चित्रेपोखरी सडक स्तरोन्नतिको लागि दोस्रो पटक म्याद थपको तयारी थालिएको छ । पहिलो पटक थपिएको म्याद गत माघ १० गतेसम्ममा सडक कालोपत्रेको काम नसकिएपछि म्याद थपको तयारी गरिएको हो ।
जिल्ला यातायात गुरुयोजनाले पहिलो प्राथमिकता दिएको सो सडक कालोपत्रेको काम गत असार मसान्तमै सकिनु पर्ने भएपनि आधा काम मात्रै पूरा भएको थियो । ठेकेदार कम्पनीेले करीव ५० प्रतिशत मात्रै काम सकेपछि गत असारमा ६ महिनाको लागि म्याद थपिएको थियो । तर थप भएको समय अर्थात गत माघ १० सम्ममा कालोपत्रेको काम नसकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख रामशरण आचार्यले बताए । ‘ठेकेदार कम्पनीले ३ महिनाका लागि म्याद थप्न पत्राचार गरेको छ, हामीले आवश्यक प्रक्रियाका लागि माथिल्लो निकायमा पठाएका छौं, उताबाट जे निर्णय हुन्छ, त्यही अनुसार काम अघि बढ्छ’ उनले भने । कालोपत्रेको काम मात्रै बाँकी रहेकाले थपिएको समयभित्र स्तरोन्नतीको काम पूरा हुने आचार्यको विश्वास छ । एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा भूकम्पीय आपतकालीन सहायता आयोजना अन्तर्गत करीव ३० किलोमिटर लामो सो सडकको स्तरोन्तीको काम सन् २०१७ को जनवरीबाट शुरु भएको हो । दुई वर्ष अघि ठेक्का सम्झौता भै स्तरोन्नतीको काम शुरु भएपनि हालसम्म पहिलोखण्डको करीव ७० र दोस्रो खण्डको ७५ प्रतिशत काम सकिएको आयोजना प्रमुख आचार्यले बताए । ३० किलोमिटरमध्ये पहिलो १७ किलोमिटर सडक स्तरोन्नतीको मात्रै म्याद थप्न लागिएको उनको भनाई छ । दोस्रो खण्ड अर्थात नयाँगाऊँदेखि भच्चेकसम्मको सडक स्तरोन्नतीको भने म्याद बाँकी रहेको छ । पहिलोखण्डको १७ किलोमिटर कामको ठेक्का लामा अमर जेभी र दोस्रो खण्डको १३ किलोमिटरको ठेक्का लामा कन्टूक्सनलाई दिइएको छ । हर्मीको थानेस्वाँरादेखि मेलभञ्ज्याङसम्मको साढे २ किलोमिटर सडकको रेखाङ्कन सम्बन्धी विवाद छिटो सुल्झाउन नसक्दा काममा ढिलाई भएको लामा अमर जेभीका परियोजना ब्यवस्थापक विकास पण्डित क्षेत्रीले बताए । हर्मीसम्मको १४ किला ेमिटर सडकमा भने कालोपत्रे गर्नुअघिको सबै काम सकिएको उनको भनाई छ । एशियाली विकास बैङ्कले सो सडकखण्ड स्तरोन्नतीका लागि करीव ६१ करोड रुपैया सहयोग गरेको छ ।




