
ठाँटी गाउँको विद्यालय पुनर्निर्माणमा आर्थिक अनियमितताको आरोप
धार्चे गाउँपालिका ७ ठाँटीको हिमाली प्राबि पुनर्निर्माणको क्रममा प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको व्यबस्थापन समितिले आरोप लगाएका छन् ।
प्रअ नसीब थापाले समितिलाई थाहै नदिई आर्थिक कारोबार गर्ने गरेको र अहिले सरुवा भै अन्यत्र जाँदा भुक्तानी हुन बाँकी रहेकाहरु पैसा माग्न आएर हैरान गर्ने गरेको अध्यक्ष दलमान गुरुङको भनाइ छ । ‘आर्खेतको खच्चड वालालाई पाँच लाख रुपियाँ दिनुपर्ने रहेछ । हिसाब नमिलाई बरबुझरथ पनि नगरी हेडसर सरुवा भएर गए’, गुरुङले भने, ‘अहिले पैसा माग्न आएर हैरान पारेका छन् । पैसा नदिए स्कूलमा ताला लगाइदिने धम्की दिएका छन् ।’ आवश्यक कागजपत्र आफै बनाउने, आफै किर्ते सही गरी काम गर्ने गरेको उनले आरोप लगाए ।

विद्यालय पुनर्निर्माणका लागि आएको सिमेण्ट पनि बाटैमा बेचेर रकम हिनामिना गरेको आरोप प्रअ थापा माथि अध्यक्ष गुरुङको छ । ‘तीन ठाउँमा सिमेण्ट बेचेको भेटेको छु’, उनले भने, ‘एक ठाउँमा ३० बोरा, अर्को ठाउँमा २५ बोरा र अर्को ठाउँमा २० बोरा बेचेको फेला पारेको छु ।’
राष्टिूय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)बाट तीन कोठे भवन निर्माणका लागि २४ लाख रुपियाँ बजेट परेको थियो । सोको अन्तिम किस्ता भुक्तानी माग्न जाँदा हेडसरले पहिल्यै बढि भुक्तानी लगेकाले सो बढि रकम फिर्ता गरेपछि मात्र अन्तिम किस्ता दिने भन्दै कार्यालयले समस्यामा पारेको उनले बताए । ‘पहिले नै दुईलाख रुपियाँ बढि निकासा आएको छ रे, त्यो फिर्ता गरेपछि मात्र अन्तिममा दिने सात लाख रुपियाँ दिने कर्मचारीले अप्ठेरोमा पारेका छन्’, अध्यक्ष गुरुङले भने ।
तर प्रअ थापाले भने आफूले हरहिसाब सबै दुरुस्त बुझाएर सरुवा भै गएको दाबी गरेका छन् । ‘मैले आरपी र देउराली स्कूलका प्रअ बद्रीप्रसाद देवकोटाकै रोहबरमा सबै हिसाबकिताब बुझाएर गत चैत महिनामा सरुवा भै आएको हो’, प्रअ थापाले भने, ‘अध्यक्षकै कमजोरीका कारण यो अबस्था सिर्जना भएको हो ।’




