
छेकम्पार स्वास्थ्यचौकी स्वास्थ्यकर्मीबिहिन
अनुपमा खनाल :
गोरखाको चुमनुब्री गाउँपालिका ७ को छेकम्पार स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नियमित नबस्ने गरेको गुनासो बढेको छ ।
सरकारी दरबन्दीका स्वास्थ्यकर्मी बिभिन्न बहाना देखाउँदै सदरमुकाम झरेपछि गाउँको स्वास्थ्य चौकी अधिकांश समय स्वास्थ्य कर्मीविहिन हुने गरेको स्थानीय साक्पा डोल्माको भनाइ छ ।
उनका अनुसार पछिल्लो समयस्वास्थ्यचौकी ३ दिनदेखि स्वास्थ्यकर्मी विहिन छ । स्वास्थ्यचौकीका अहेब गंगाराम र हेल्थ असिस्टेन्ट कमल नारायण श्रेष्ठ ‘परीक्षाका लागि’ भन्दै बिदा लिएका चुमनुब्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए ।
‘गंगाराम सर जाँच छ भन्दै सिर्दिबासबाट हिजो गोरखा जानुभो’ उनले भने ‘कमल सर त बिपिएचको परिक्षाका लागि १५ दिन अघि नै जानुभएको हो ।’ छेकम्पार स्वास्थ्यचौकीमै दरबन्दी रहेका अर्का एकजना अहेबलाई यसअघि नै चुम्चेत स्वास्थ्य चौकीमा काजमा खटाएको उनले बताए ।
स्वास्थ्यचौकीमा क्यान नेपाल अन्तरगत कार्यरत हेल्थ असिस्टेन्ट फुक्पा डोल्मा लामा पनि आमा बिरामी भन्दै एकसाताअघि बिदा लिएर घर गएकी छिन् । चौकीमा अनमीको दरबन्दी रिक्त छ । स्वास्थ्यकर्मी विना जानकारी आफुखुसी हिड्ने गर्दा स्वास्थ्य चौकी अहिले बन्द रहेको स्वास्थ्य चौकी ब्यबस्थापन समितिकी सदस्य साक्पा डोल्मा लामाले बताईन् ।
‘ब्यबस्थापनलाई जानकारी नदिई हिड्छन्’, उनले भनिन्, ‘मेरो घरसँगै जोडिएको छ स्वास्थ्यचौकी, पहिले पहिले त आलोपाले गरेर जान्थ्यो, अहिले त कोही छैन । समितिको मान्छे भन्दै बिरामी आएर चौकी किन बन्द भो भन्दै सोध्छन्, मैले के भन्नु ?’ अहेब गंगाराम नियमित रुपमा कहिले पनि चौकीमा नबस्ने उनले बताईन् । स्वास्थ्य चौकी बन्द हुँदा सो क्षेत्रका बिरामी ३÷४ घन्टा हिडेर लारमा रहेको सामुदायिक स्वास्थ्य इकाई जानुपर्ने बाध्यता रहेको उनले जानकारी दिईन् ।
‘बिरामीलाई उपचार पाउनै गाह्रो छ’ उनले भनिन् ‘कोही हात काटेर आउँछ, कोही रुघाखोकी ज्वरोको बिरामी आउँछन्, कोही महिना वारी समस्या भन्दै आउँछन् । यहाँ चौकी बन्द हुँदा सबैजना हिउँको बाटो हुँदै लार पुग्नुपर्छ ।’ दुर्गम र विकट क्षेत्र भएकाले पनि कर्मचारीको बढि लापरबाही रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुङले स्वीकार गरे । ‘मैले जनप्रतिनिधिहरु लाई निगरानी गर्न आग्रह पनि गरेको छु’ उनले भने ‘स्वास्थ्यकर्मी को कहाँ जान्छ भन्ने मैले पनि पत्तो पाउँदिन, त्यसैले गाउँपालिका मा अनिवार्य रुपमा आए(गएको मिति सहित हाजिर हुनुपर्ने ब्यबस्था मिलाउने तयारीमा छु ।’ छेकम्पार स्वास्थ्य चौकीमा छिट्टै स्वास्थ्यकर्मी पठाउने उनले बताए ।




