
रु. २५ करोड लागतमा गोरखा अस्पतालको भवन बन्दै
अनुपमा खनाल
गोरखा जिल्ला अस्पतालको आधुनिक सुविधा सम्पन्न नयाँ भवन बन्ने भएको छ । भुकम्पले क्षति पु¥याएको पुरानो भवन भत्काएर त्यही ठाउँमा नयाँ भवन बनाउने प्रक्रिया सुरु भएको मेडिकल सुपरिटेण्डेन श्रीराम तिवारीले बताए ।
जर्मनी संस्था केएफडब्लुको २५ करोड रुपैयाँको आर्थिक सहयोगमा भवन बनाउन टेण्डर आव्हान गरिसकेको अस्पताल विकास समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए । नयाँ भवन बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेण्डर गरिसकेको अध्यक्ष अर्यालले जानकारी दिए । अब केही सातामा निर्माण कम्पनीको टुंगो लाग्ने उनको भनाई छ । अब बन्ने भवन सरकारले निर्धारण गरेको ५० शैयाको अस्पतालको मापदण्ड अनुसार बन्ने मेडिकल सुपरिटेण्डेण्ट तिवारीले बताए । ‘सरकारले तोकेको मापदण्डमा रहेर भवन बन्छ’ उनले भने ‘चारतले भवन बन्ने भएको हो । नयाँ भवनमा अन्तरंग, बहिरंग, अपरेशन कक्ष सहितका संरचना रहनेछन् ।’ अस्पताल बनेपछि आवश्यक उपकरण पनि सोही संस्थाले उपलब्ध गराउने तिवारीले बताए । ठेक्का सम्झौता भएको १४ महिनाभित्र भवन निर्माण पूरा गर्ने उनले जानकारी दिए । अस्पताललाई भौतिक रुपमा स्रोतसम्पन्न बनाउने तयारी भैरहेको अध्यक्ष अर्यालको भनाइ छ । ‘आबश्यकता अनुसारका भवनहरु बन्ने क्रममा छन्’ उनले भने ‘शब चिस्यान गृह यसअघि नै बन्यो, अहिले मुल भवन बन्दैछ । हामी अब अस्पतालको फोहोरमैला ब्यबस्थापन गृह पनि बनाउने तयारीमा छौँ ।’ नयाँ बन्ने भवनका लागि ठाउँ खाली गर्न हाल सेवा सञ्चालित पुराना भवन भत्काउनु पर्ने भएको उनको भनाइ छ । ‘हालका तीनवटा भवन भत्काउनुपर्ने भएको छ’, मेसु तिवारीले भने ‘स्टोर, इन्डोर र पुरानो पोष्र्टमार्टम भवन भत्काउनका लागि प्राविधिक मुल्याङ्कन गरेर हामी टेण्डर आब्हान गर्ने तयारीमा छौं ।’ हाल प्रयोगमा रहेको भवन भत्काएसँगै अन्तरंग सेवा लायन्स आँखा अस्पतालको भवनमा सञ्चालन गर्ने अस्पताल ब्यबस्थापन समितिले तय गरेको छ । गोरखा अस्पताल भवनको सटरलाई स्टोर बनाईने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए ।

१५ शैयाको जिल्ला अस्पताल ६ बर्षअघि ५० शैयामा स्तरोन्नती भएको थियो । तर पर्याप्त पूर्वाधारको अभावमा पुराना र जीर्ण भवनहरुबाट सेवा प्रवाह हुँदै आएका छन् । सीमित स्रोत साधन र जनशक्तिका बीच अस्पतालले सेवा प्रवाह गरिरहेको अध्यक्ष अर्यालले बताए । ‘यहाँ ७ विशेषज्ञ सहित १४ डाक्टरको दरबन्दी भएपनि एकजना मात्र विशेषज्ञ हुनुहुन्छ’ उनले भने ‘दरबन्दी अनुसारका विशेषज्ञ नहुँदा हामीले अपेक्षा गरेअनुसारको सेवा प्रवाह गर्न सकेका छैनौ ।’ बालरोग, अर्थाेपेडिक, रेडियोलोजिष्ट, प्याथोलोजिष्ट, सर्जन र मानसिक रोग विशेषज्ञको दरबन्दी खाली रहेको अस्पताल ब्यबस्थापन समितिले जनाएको छ । दरबन्दी अनुसारका जनशक्ति खटाउन स्वास्थ्य मन्त्रालयसँग पटक पटक माग गरेपनि सुनुवाई नभएको अध्यक्ष अर्यालले बताए ।
मन्त्रालयले दरबन्दी परिपुर्ति नगरेपछि अस्पतालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर बाल रोग विशेषज्ञ सेवा सञ्चालन गरिरहेको छ । यस्तै, दन्त उपचारका लागि छुट्टै कक्ष स्थापना गरि विज्ञ डाक्टरको ब्यबस्था गरेको अस्पताल ब्यबस्थापन पक्षले जनाएको छ ।




