| आइतवार, कार्तिक २२, २०८३

दाँतको औषधी भन्दै ठग्नेलाई सार्वजनिक हितविरुद्धको मुद्दा

किरण लोहनी :

दाँत सफा गर्ने औषधी भन्दै चकको धूलो र अबीर पानीको झोल चर्को मूल्यमा बिक्री गर्ने पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्धा चलाएको छ । उनीहरुविरुद्ध प्रहरीले जिल्ला प्रशासनमा सार्वजनिक हीत विरुद्धको मुद्धा दर्ता गराएको हो । गोरखा सदरमुकामको विभिन्न स्थानमा माइकिङ गर्दै दाँत सफा गर्ने औषधी बेच्दै गरेको अवस्थामा माघ २९ गते प्रहरीले ४ जनालाई पक्राऊ गरेको थियो । प्रहरीले बाँकेको बैजनाथ गाऊँपालीकाका २६ वर्षका बुद्धिराम खत्री, जुम्लाको सिंजा गाऊँपालीकाका २० वर्षका अमृत बूढाक्षेत्री, लमजुङको मस्र्याङदी गाऊँपालीकाकी २० वर्षीया मिना अधिकारी तथा सोही ठाऊँका २१ वर्षका सौगात अधिकारीलाई पक्राऊ गरि अनुसन्धान थालेको थियो । उनीहरु बसेको होटलमा छापा मार्दा ठूलो परिमाणमा औषधी भनिएका सामग्री फेला परेको जिल्ला प्रहरीको मुद्धा शाखाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले बताए ।
‘अनुसन्धानका क्रममा ती वस्तु दाँत सफा गर्ने औषधी नभै चकको धुलो र अबिर पानीको घोल रहेको पुष्टि भयो’ उनले, ‘भारतबाट चक बनाउने थुलो र अबिर तथा सिम्रिक आयात गरि चितवनमा ल्याएर घोल बनाई बेच्ने रहेछन् ।’ उक्त घोललाई साना साना बट्टामा राखेर बिक्री गर्ने गरेको खुलेको भट्टराईले जानकारी दिए । गोरखा वजारबाट पक्राऊ परेका चारै जनालाई ती सामग्री बिक्री गर्ने मुख्य ब्यापारी भारत सिलिगुडीका २८ वर्षका अलिम शेखलाई पनि प्रहरीले चितवनबाट पक्राऊ गरि सार्वजनिक हीत विरुद्धको मुद्धा चलाएको छ । ‘अलिमले भारतबाट प्रतिकिलो ५० रुपैयामा किनेर ल्याएको धुलो चितवनबाट देशका विभिन्न ठाऊँमा सप्लाई गर्ने रहेछ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले भने, ‘त्यही धुलोलाई पानीमा घोलेर औषधी भन्दै चर्को मूल्यमा बेच्ने रहेछ ।’ १० मिलिलिटरको बट्टामा राखिएको घोललाई १ शय ५० रुपैयासम्ममा बिक्री गरेको पाइएको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए । उनीहरुलाई ठगी मुद्धा चलाउन खोजेपनि ठगिएको भनेर कतैबाट जाहेरी नआएकाले सार्वजनिक हीत विरुद्धको मुद्धा चलाउनु परेको उनको भनाई छ ।

औषधीको कारोबार गर्नका लागि औषधी ब्यवस्था विभागको स्विकृति सहित आन्तरिक राजस्व कार्यालय मा दर्ता हुनुपर्ने लगायत मापदण्ड पूरा गर्नुपर्छ । झोलामा यसप्रकारको औषधी बेच्न पनि औषधी ब्यवस्था विभागले निषेध गरेको छ । उपभोक्ता हीत संरक्षण ऐन २०५४ अनुसार पनि उत्पादकले उपभोग्य वस्तुमा लेबल अनिवार्य लगाउनु पर्ने हुन्छ । ऐनको दफा ९ मा लेबलमा उत्पादकको नाम ठेगाना र दर्ता नम्वर, खाद्य पदार्थ तथा औषधी जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल, मूल्य ब्याच नम्वर, उत्पादन मिति, उपभोगको म्याद सकिने मिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भनिएको छ ।
तर उनीहरुले बट्टामा नक्कली स्टिकर टाँसेर ति सामग्री बिक्री गरेका थिए । उपभोक्ता संरक्षण ऐनकै दफा १० मा निम्नस्तरको उपभोग्य वस्तु वा सेवालाई उच्चस्तरको उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री वितरण गर्न नहुने उल्लेख छ । सोही दफामा कुनै उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपयोगिता वा प्रभावकारिताको सम्बन्धमा झुट्टा वा भ्रामात्मक प्रचार प्रसार वा विज्ञापन गर्ने किसिमले अनुचित व्यापारिक क्रियाकलाप गर्न नहुने भनिएको छ । कुनै वस्तुको भ्रामात्मक प्रचार गर्नेलाई ३ वर्षसम्म कैद वा ५० हजार रुपैया जरिवाना वा दुबै सजायँ हुने पनि ऐनमा छ । जिल्ला प्रहरीले भने पहिलो पटक भएकाले चेतावनी सहित सार्वजनिक हीत विरुद्धको मुद्धा चलाएको बताएको छ । यस्ता सामग्री खरिद गर्दा उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने प्रहरी निरिक्षक भट्टराईको भनाई छ । गोरखा वजार सहित आसपासका शहरमा औषधी भन्दै यस्ता वस्तु पटक पटक बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्