
अपरिचित व्यक्तिद्वारा ज्यादुलफाँटको आठ रोपनी जग्गाको तरकारी नष्ट
किरण लोहनी :
गोरखाको सहिद लखन गाउँ पालिका ८ ज्यादुलफाँटको झण्डै ८ रोपनी खेतमा लगाइएको तरकारीबाली अज्ञात समूहले नष्ट गरिदिएका छन् । स्थानीय छबीसे फाँटमा बिभिन्न किसानले लगाएका ब्यवसायिक तरकारीखेती नष्ट गरिएको हो ।
खेतमा लगाइएको आलु, केराऊ, बकुल्ला, मूला, काउली लगायत तरकारी बाली उखेलेर फालिएको किसानहरुले बताएका छन् । २६ गते राति घटना भएपनि भोलि पल्ट दिउँसो खेतमा जाँदा मात्रै जानकारी पाएको किसान गौतम थापाले बताए । ‘अघिल्लो दिन दिउँसो तरकारी गोडमेल गरेर फर्किएको हो, सबै राम्रै थियो, भोलिपल्ट दिउँसो खेतमा आउँदा त तरकारी सोत्तर पारिएको रहेछ’ उनले भने, ‘आलुका बोट उखेलेर फालेका छन्, मूला त खेतको परपरसम्म पु¥याएर थुपारिदिएका रहेछन् ।’
किसानहरु शंकर थापा, सूर्यबहादुर थापा, बाबुराम परियार, नरबहादुर परियार, बद्री थापा, गोरे परियार, तुलप्रसाद अंगाई लगायतको फसल लिने बेलाको तरकारीबाली नष्ट पारिएको हो । ‘सुरुमा त बाँदरले उखेलेर फालेछ भन्ने लागेको थियो, तर खेतका ठाउँठाउँमा मान्छेका पाइला पनि छन् । यो मान्छेकै उपद्रो हो भन्ने प्रष्ट छ’ थापाले भने ।

पुसमा लगाइएको आलु खेती फागुन अन्तिमतिर खन्ने किसानको तयारी थियो । ब्यवसायिक रुपमा लगाइएको खेती नष्ट भएपछि नयाँ खेती गर्ने उत्साह हराएको अर्का किसान सानुकाजी थापाले बताए । ‘यहाँका धेरै किसान दाजूभाई ब्यवसायिक खेतीको सुरसारमा हुनुन्छ, अहिले यहाँ केही किसानको बाली नष्ट भयो, भोलि अरुको नहोला भन्न सकिन्न, यस्तो चालले त ब्यवसायिक खेतीमा कसरी मन जाला र ?’ उनले भने ।
दोषीको पहिचान गरी कारवाही गर्न माग गर्दै पीडित किसानहरुले बुंकोट प्रहरी चौकीमा निवेदन दिएका छन् । ८ रोपनी क्षेत्रफलको करीव ५० क्विन्टल तरकारी बाली नष्ट भएको निवेदनमा उल्लेख छ । दोषीको पहिचान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन किसानहरुले प्रहरीलाई आग्रह गरेका छन् ।
दोषीबाट क्षतिपूर्ति दिलाइदिन पनि उनीहरुले प्रहरीसँग माग गरेका छन् । बुंकोट प्रहरी चौकीको एक टोलीले घटनास्थलको निरीक्षण गरेको छ । ढिलो चाँडो दोषी पहिचान गरिने र अनुसन्धान मा स्थानीय किसानहरुले पनि सघाउनु पर्ने प्रहरीले जनाएको छ ।




