| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सुन्तला खेतीको पनि बिमा सुरु

किरण लोहनी :
सुन्तला खेती राम्रो हुने गोरखामा सुन्तला खेतीको बिमा सुरु भएको छ । २०७० सालबाट कृषि बीमा सुरु भएपनि सुन्तला लगायत फलफूल बालीको भने बिमा भएको थिएन । पहिलो पटक शहिद लखन गाऊँपालिका २ का कृषक इन्सान थापाले सुन्तला बालीको बीमा गराएका हुन् । यससँगै जिल्लामा सुन्तला खेतीको बिमा शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुन्तला जोनका प्रमुख अजय अधिकारीले बताए ।
‘बाली तथा पशुपंक्षी बिमा निर्देशन २०६९ अनुसारनै सुन्तला बालीको पनि बिमा सुरु भएको हो, उनले भने, ‘सुन्तला खेतीमा वर्षभरि हुने लगानीलाई आधार मानेर बिमा गरिन्छ ।’ खेतीको कुल लागतका आधारमा किसानले बिमा रकमको २५ प्रतिशतमात्रै ब्यहोर्ने गरि बिमा कार्यक्रम सुरु भएको उहाँले जानकारी दिए । बाँकी ७५ प्रतिशत बिमा रकम भने सरकारले अनुदान दिने ब्यवस्था रहेको छ ।
सुत्तला उत्पादक किसानले वर्षभरि हुने लगानीको सिफारिस सहितका कागजात जुटाएपछि बिमाको प्रक्रिया अघि बढ्ने उनले । ‘कृषि प्राविधिकले वर्षभरिको लागत अनुमान निकाल्छन्, बगैंचाभरिको बोटको संख्याका आधारमा एउटा मूल्य निस्कन्छ त्यसैको आधारमा सिफारिस बनाइदिएपछि बिमाको प्रक्रिया अघि बढ्छ’ अधिकारीले भने ‘त्यसलाई सुन्तला जोन कार्यालयले प्रमाणित गरेपछि सम्बन्धित बिमा कम्पनीमा थप कागजात सहित सम्पर्क गर्न सकिन्छ ।’ प्राविधिक सिफारिससँगै किसानले नागरिकताको प्रतिलिपि, सुन्तला खेती गरिएको जग्गाको लालपूर्जा र अरुको जग्गामा खेती गरेको भए भाडाको सम्झौता पत्र पेश गर्नुपर्नेछ । गोरखामा एनएलजी लाइफ इन्स्योरेन्स कम्पनीले सुन्तलाको बिमा गराउन थालेको हो । सुन्तला बालीसँगै किसानको पनि दुई लाख रुपैया बराबरको दुर्घटना बिमा हुने ब्यवस्था गरिएको अधिकारीले जानकारी दिए । ‘त्यसका लागि सुन्तलाको बिमा शुल्क बाहेक किसानले एक सय रुपैया थप शुल्क तिर्नुपर्नेछ’ उनले भने ।
अहिले लागतको आधारमा सुन्तलाको बिमा सुरु गरिएपनि आउँदा वर्षहरुमा भने उत्पादनको आधारमा बिमा गर्ने तयारी भएको सुन्तला जोनका प्रमुख अधिकारी ले बताए । बिमा भएपछि असिना, सुख्खायाम, बोटहरु मर्ने लगायत का समस्याका कारण किसानले ब्यहोर्नुपर्ने क्षतिको बिमा रकम पाउन सकिने उनको भनाई छ । ‘तर मानवीय कमजोरी, महामारी फैलिएर सरकारी निकायलेनै बोट काट्न भनेमा बिमा दावी भुक्तानी गर्न सकिँदैन’ उनले भने, ‘एकाघरका अरु ब्यक्तिले बालीमा क्षति पु¥याएमा पनि बिमा रकम पाउने ब्यवस्था छैन ।’ गोरखामा ८ शय ६५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । चालु आर्थिक वर्ष जिल्लामा ७ हजार ६ शय मेटिूक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष करीव ३८ करोड बराबरको सुन्तला बिक्री भएको सुन्तला जात फलफूल जोन कार्यालयले जनाएको छ । जिल्लाभरका करीव १३ शय किसानले सुन्तला खेती गर्दै आएका कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्