
गोरखाका औषधी पसल र क्लिनिक सञ्चालकको चरम लापर्बाही, किराना पसल र औषधी पसल एकै ठाम, ३६५ औषधी पसलमध्य ३५ वटा मात्रै दर्ता
अनुपमा खनाल :
गोरखाका औषधी पसल र क्लिनिकहरु दर्ता तथा नवीकरण बिना नै सञ्चालन भएको पाइएको छ । जिल्ला अनुगमन समितिले सोमबार गरेको अनुगमनका क्रममा औषधी पसलहरु दर्ता तथा नविकरण विना नै सञ्चालन भएको पाईएको हो । सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल नेतृत्वको टोलीले अस्पतालमार्ग र लक्ष्मीबजारका आठवटा औषधी पसलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अस्पताल मार्गको गोरखा सामुदायिक डेन्टल क्लिनिक अवैधानिक रुपमा सञ्चालन भएको पाइएको छ । सो डेन्टल क्लिनिक आर्थिक बर्ष २०७२÷०७३ देखि जिल्ला स्वास्थ्य कार्यालयमा नविकरण नभएको, सन् २०१५ देखि नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा नविकरण नभएको र पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको सञ्चालन स्विकृति अनुमति म्याद गुज्रेको पाइएको हो ।
सो क्लिनिकलाई १० दिनभित्र बैधानिक कागजातको सक्कल प्रतिसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

अनुगमनकै क्रममा अस्पताल मार्गको बानिया फार्मेसी स्थानीय तहमा दर्ता नविकरण नगरेको पाइएकाले १० दिनभित्र नवीकरण गरेको कागजात बुझाउन निर्देशन दिइएको छ । अस्पतालमार्गकै तिवारी फर्माकी कर्मचारी एउटै लाईसेन्सका आधारमा दुई ठाउँमा काम गर्ने पाइएकाले एक ठाउँमा मात्र काम गर्न निर्देशन दिईएको छ । लक्ष्मीबजारको दुईपिप्ले आयुर्वेदिक फर्मामा मेडिकलका औषधी पनि बिक्री भएको पाइएको अनुगमन टोलीले जनाएको छ ।
सो फर्मामा अनुमति अनुसारका आयुर्वेदिक औषधी मात्र बेच्न निर्देशन दिएको प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
लक्ष्मीबजारमा नै साइनबोर्ड बिना नै अर्याल मेडिकल हलको नाममा औषधि, किराना तथा स्टेशनरी सामान एउटै पसलमा सञ्चालन भएको पाइएको छ । सदरमुकामको नयाँबजारमा पनि सोही नाममा मेडिकल सञ्चालनमा रहेको छ । एउटै नाममा दुई ठाउँमा मेडिकल सञ्चालन भएकाले सोका सञ्चालकलाई कानुनी प्रक्रिया पुरा गरेर मात्र ब्यबसाय सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
आबश्यक कागजात सहित १५ दिनमा प्रसासन कार्यालयमा आउन निर्देशन दिइएको अनुगमनमा सहभागी जिल्ला प्रसासन कार्यालयका खरिदार रविलाल सुवेदीले बताए । तोकिएको समयमा कागजात सहित उपस्थित नभएमा उनीहरुको ब्यबसाय बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
लक्ष्मीबजारकै प्रकास फार्मेसी र श्रेष्ठ मेडिकल तथा अस्पताल मार्गको ढकाल मेडिकल हलले कानुन अनुसार प्रक्रिया पूरा गरी ब्यबसाय सञ्चालन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
औषधी ब्यबसायी संघ गोरखाका अनुसार जिल्लामा तीन सय ६५ वटा औषधी पसल भएपनि ३५ मात्रै दर्ता भएका छन् ।
नियम अनुसार औषधी ब्यबस्था विभागमा दर्ता गरेर मात्र औषधी पसल राख्न पाईने प्रावधान छ । संघका अध्यक्ष संगम बाबु श्रेष्ठका अनुसार जिल्लाको ग्रामीण भेगमा विना दर्ता औषधी पसल चलिरहेका छन् । त्यस्ता पसलमा नेपालमा विक्रीका लागि अनुमति नै नपाएका औषधीहरु पनि बिक्री भैरहेको ब्यबसायीहरुले बताएका छन् ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, औषधि ब्यबसायी संघ, जिल्लाका सरकारी तथा निजि अस्पतालका प्रतिनिधी, गोरखा नगरपालिकाका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो । सोमबार नै सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको अध्यक्षतामा बसेको बजार अनुगमन समितिको बैठकले जिल्लाका औषधी पसलको नियमित रुपमा अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकले औषधी ब्यबस्था विभागबाट स्विकृत लिई जिल्लामा सञ्चालित औषधी पसलको विवरण जिल्ला स्वास्थ्य कार्यालय मार्फत संकलन गर्ने निर्णय पनि गरेको छ । बिनादर्ता सञ्चालित औषधी पसललाई कारबाहीका लागि जिल्ला स्वास्थ्य र सम्बन्धित स्थानीय तहलाई आग्रह गर्ने पनि निर्णय भएको छ ।
मेडिकलमा औषधी बिक्रि गर्दा अपनाउनुपर्ने कानुनी प्राबधान प्रभावकारी ढंगले कार्यान्वयन हुनुपर्नेमा जोड दिदै बैठकले बिनाप्रेस्किप्सन औषधी बेचेको पाएमा प्रशासन वा प्रहरीमा खबर गर्न पनि आग्रह गरेको छ ।




