
कर्मसिङ फाँटका कर्मशील महिला : समूहको आम्दानी बढाउन सामूहिक खेती
किरण लोहनी :
नाम : कर्मसिंङ महिला समूह
ठेगाना : गोन.पा. १३, कर्मसिं फाँट
देशका अन्य ठाऊँका जस्तै साविकको देउराली कर्मसिं फाँटका महिलाहरु संगठित भएर गठन भएको समूह ।
आफ्ना अधिकारका कुरा मात्रै होइन, समग्र समाजकै लागि केही गरौं भन्ने हुटहुटी सहित २०५८ सालमा स्थापना भएको समूहले झण्डै १५ वर्षसम्म बचत संकलन र सदस्यहरुलाई ऋण दिने काम मात्रै गर्यो ।
यसले समूहको कोष बढाउन उल्लेख्य योगदान नगरेपछि उनीहरुले नयाँ सोच ल्याए, सामुहिक तरकारी खेती ।
समूहको कोष बृद्धि गर्न भन्दै समूहका सदस्यहरु मिलेर ४ वर्षअघिदेखि सामुहिक रुपमा तरकारी खेती गर्न थालेका हुन् । समूहकी सदस्य सीता पाण्डेको करीव ५ रोपनी जग्गामा यो वर्ष उनीहरुले आलु, काउली, मूला, चम्सुर लगायत तरकारी खेती गरेका छन् । चारवर्षअघिबाट समूहका सदस्य मिलेर खेती शुरु गरेकोमा त्यसलाई हरेक वर्ष बढाउँदै लगिएको समूहकी अध्यक्ष यानुमाया नरालले बताइन् ।
‘शुरुको वर्ष १ रोपनी जति जग्गामा अदुवा लगायौं, २÷३ हजार आम्दानी भयो’ उनले भनिन्, ‘आफूले गरेको मेहनतलाई छोड्ने हो भने राम्रै हुँदो रहेछ भनेर त्यसलाई बढाउँदै लगेका छौं ।’
सो समूहका सबै २९ सदस्यले बारी खनजोत, तरकारी लगाउने, गोडमेल गर्ने लगायतका काम संयुक्त रुपमा गर्दै आएका छन् ।
कामको दिन आउन नसक्ने सदस्यले आफ्नो परिवारको पुरुष सदस्यलाई पठाउँछन् । कोही पनि आउन नसकेको अवस्थामा भने दिनको ४ शय रुपैया हर्जाना तिराउने समूहको नियम छ ।
तरकारी बिक्रीबाट भएको आम्दानी समूहको आयआर्जन कोषमा बचत गर्ने गरिएको अध्यक्ष नरालले बताइन् । ४ वर्षदेखिको तरकारी खेतीबाट भएको करीव २० हजार सहित नियमित बचतको आम्दानीबाट कुर्सी, भाडावर्तन लगायत सामग्री किनिएको समूहकी उपाध्यक्ष कल्पना पाण्डेले बताइन् ।
‘गाऊँमा बिहे, बर्तुन जे कार्जेमा पनि खैरेनीदेखि सामान ल्याउनु पर्दा खर्च धेरै भयो, अनि हामीले भोजभतेरमा चाहिने सामान किन्यौं, अहिले सबैलाई सजिलो त भएकै छ, समूहर्ला २÷४ पैसा आम्दानी पनि हुन थालेको छ ।’ समूहमा हुने धेरथोर आम्दानीबाट आफ्नै भवन बनाउने र थप जग्गा खोजेर सामुहिक तरकारी खेतीलाई विस्तार गर्ने उनीहरुको लक्ष्य छ ।
तर तरकारीको वजारीकरण लगायतका काममा सरकारी निकायको सहयोग नपाएको महिला समूहका सदस्यहरुको गुनासो छ । ‘बारीमा मुला बेच्नका लागि ठिक्क भएको छ, तर २÷३ रुपैया किलोमा बेचेर के फाइदा, न खेर फाल्नु न कौडीको भाऊमा बेच्नु ?’ समूहकी अर्की सदस्य विष्णुमाया लोहनीको दुखेसो छ ।
यो पटक वडा कार्यालयबाट ५० प्रतिशत अनुदानमा आलुको विऊ पाएका उनीहरुले खेर गएको सरकारी जग्गामा सामुहिक तरकारी खेत गर्ने इच्छा देखाएका छन् । सामुहिक तरकारी खेती बाहेक समूहका सदस्य मिलेर गाऊँ नजिकैको बाहुनबेल सामुदायिक वनमा अम्रिसो र बकाइनो खेती गरेका छन् ।
वनको ७ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोबाट पनि धेरथोर आम्दानी हुन थालेको समूहकी अध्यक्ष यानुमाया नरालको भनाई छ ।‘
बनमा अरेलीको घारी थियो, घाँसपात गर्न जान समेत नसकिने अवस्थाको घारी फाँडेर अम्रिसो लगायौं, ३ हजार जतिको त कुचोनै बेचिसक्यौं ।’ उनले सुनाइन् ।
यो वर्ष अम्रिसोको विऊ बिक्रीको तयारीमा रहेको उनको भनाई छ । समूहमा मिलेर काम गर्दा धेरै कुरामा सजिलो भएको उनीहरुको अनुभव छ ।
‘एक जनाले हप्ताभरिमा पनि नसक्ने काम हामी एकैदिनमा सक्छौं’ सदस्य सीता पाण्डे भन्छिन्, ‘दिदी बहिनी जम्मा भएपछि दुखसुखका कुरा पनि हुन्छ, एक अर्काको पीर मर्का पनि थाहा हुनेनै भयो ।’




