
गोरखकाली रबर उद्योगमा अवकाशको सूचना टाँस
किरण लोहनी :
गोरखा नगरपालिका वडा नम्वर १३ मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योग करीव ४ वर्षदेखि बन्द छ । उद्योग बन्द भएपनि साढे दुई सय मजदुर हरेक दिन २ पटक अनिवार्य रुपमा उद्योगमा पुग्थे । बिहान ७ वजे उद्योगमा जडान गरिएको विद्युतीय हाजिरी मेशिनमा हाजिरी गरेपछि उनीहरु दिनभर आफ्ना अरु कामधन्दामा ब्यस्त हुन्थे । अनि बिहानजस्तै दिउँसो ३ बजे हतार हतार उद्योग पुग्थे र बिदाई हाजिरी गरेर घर फर्कन्थे । अब भने त्यो सिलसिला औपचारिक रुपमा टुंगिएको छ । बन्द उद्योगमा हाजिरीमात्रै गरेर जागीर धानिरहेका मजदुर र कर्मचारीलाई अवकाश दिने सरकारी निर्णय उल्लेख गर्दै उद्योगको मूल गेटमा सूचना टाँस गरेपछि पौने ४ वर्षदेखिको बिना कामको हाजिरीको सिलसिला मात्रै टुंगिएन, उद्योग स्थापनाको भण्डै २८ वर्षदेखिको अलमल पनि टुंगिएको छ । स्थापनाको करीव ३ दशकको अवधीमा गोरखकाली रबर उद्योग एक वर्षमात्रै नाफामा गयो, अरु सबै वर्ष घाटा मात्रै ।
बढ्दो घाटाका विचमा कैयौं पटक मजदुरले नियमित तलव खान समेत नसक्ने अवस्था आयो । विभिन्न सरकारले पटक पटक दिएको ऋणबाट तलवभत्ताको ब्यवस्थापन त भयो, तर उद्योग निरन्तर चल्न सकेन । २०७२ सालको भूकम्पपछि भने रबर उद्योग एक पटक पनि चलेन । न सरकारले पुनः सञ्चालनको भरपर्दो आशा जगाइदिन सक्यो, न त बन्दनै ग¥यो । यसरी कागजी कर्मचारीमात्रै भएर बस्नुपर्दा दिक्क भएका कर्मचारी र मजदुरले निष्कर्ष निकाले, बरु हामीलाई अहिलेसम्म को बक्यौता रकम दिएर अवकाश गरिदिए हुन्छ ।

बर्तमान सरकार र मजदुर कर्मचारीको लय मिल्यो र गत माघ ३ गतेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई सोही दिनदेखि लागू हुने गरी अनिवार्य अवकाश दियो । अवकाश दिइएको बारे औपचारिक जान कारी गराउन उद्योगको महा प्रवन्धकको समेत जिम्मेवारी पाएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचीव शोभाकान्त पराजुली माघ १२ गते बिहानै उद्योग परिसर आइपुगे । मूल गेटमा अवकाशको सूचना टाँसे र मजदुर कर्मचारीसँग केहीबेर अन्तक्र्रिया गरेर फर्किए ।
‘अब तपाईहरुले हाजिरी गरिरहनु पर्दैन, अवकाश पाउनुभएको छ, हामी बक्यौता तलबभत्ता छिट्टै उपलब्ध गराउँछौं ।’ मजदुर नेता र कर्मचारीलाई उनले जानकारी दिए । ५५ वर्षे उमेर हदका कारण अवकाश पाएका ४६ जनालाई प्राथमिकता मा राखेर सरकारले बाँकी तलबभत्ता भुक्तानी गर्दै जाने पौडेलले जानकारी दिए । ‘पहिलो चरणमा हामीले अर्थ मन्त्रालयसँग ३० करोड रुपैया मागेका छौं, त्यो पैसा आएपछि उपदान पाउनुपर्ने ४६ जनाको बक्यौता भुक्तानी गर्छौ, बचेको पैसाबाट बाँकी कर्मचारी को कति महिनाको पुग्छ, त्यति समयको तलव दिन्छौं ।’ उनले जानकारी गराए । अवकाश पाएकाहरुको बाँकी तलव र उपदान सुविधामा मात्रै ८ करोड आवश्यक पर्ने उद्योग ब्यवस्थापनले जनाएको छ ।
तीन किस्तामा बाँकी तलवभत्ता भुक्तानी गर्ने मन्त्रालयको लक्ष्य रहेको सहसचीव पौडेलको भनाई छ । ‘आउँदो भदौसम्ममा सबैले पाउनुपर्ने पैसा पाउनुहुन्छ, अब माघ ३ गतेबाट जागीर सकियो भन्ने बुझ्नुहोस् ।’ तर मजदुर नेता र कर्मचारीहरुले भने पूरै तलव नपाएको दिनसम्म हाजिरी हुन पाउनुपर्ने र उक्त अवधीको पनि सेवा सुविधा पाउनुपर्ने माग गरेका छन् ।
‘हामीले ३ विषयमा उहाँको ध्याना कर्षण गरायौं’ नेपाल कारखाना श्रमीक संघका इकाई अध्यक्ष इश्वर परियारले भने, ‘पूर तलव नपाए सम्मको अवधीलाई सेवा अवधीका रुपमा गणना गरियोस् भनेका छौं, उमेरहदका कारण अवकाश पाएकाहरुलाई क्षतिपूर्ति सहित बाँकी तलव दिनुपर्छ भनेका छौं र उद्योग सञ्चालन भएपछि इच्छुकलाई जागीरमा प्राथमिकता दिनुपर्छ भनेका छौं ।’ उद्योगका विभिन्न राजनीतिक दल आवद्ध मजदुर संघसंगठनले यसलाई साझा मुद्धा बनाएका छन् ।




