
प्रअसम्बन्धी विवादका कारण रत्नराज्य माविको पठनपाठन प्रभावित, सुरक्षाका लागि प्रअ देवकोटाले प्रशासन गुहारिन्
प्रधानाध्यापक सम्बन्धी विवादका कारण गोरखा नगरपालीका १० विरेञ्चोकको रत्नराज्य माध्यमिक विद्यालयको पठनपाठन सोमबार प्रभावित भएको छ । आईतबार विद्यालयमा प्रधानाध्यापक सरला देवकोटालाई अभिभावकले जर्बजस्ती कुर्चिबाट हटाएर तेजबहादुर नेपालीलाई बसालेपछि सोमबार विद्यालयमा पठनपाठन प्रभावित भएको हो ।
प्रधानाध्यापकमाथि भएको दुब्र्यबहारको विरोधमा २१ मध्ये १२ शिक्षकले विद्यालय बन्द भएको सुचना जारी गरेका छन् । असुरक्षाको कारण देखाउँदै उनीहरुले अर्को सुचना जारी नभएसम्मका लागि पठनपाठन लगायत सम्पूर्ण क्रियाकलाप बन्द रहने बताएका छन् । अन्य शिक्षक विद्यालय पुगेपनि पुर्ण रुपमा कक्षा सञ्चालन हुन नसकेको विद्यार्थीहरुले बताएका छन् ।
अभिभावकहरुले गाली गलौज सहित दुब्र्यवहार गरेकाले सुरक्षाको माग गर्दै प्रधानाध्यापक देवकोटाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । उनले आफुमाथि दुब्र्यबहार गर्नेलाई कारबाहीको माग पनि गरेकीछन् । गोरखा नगरपालीका ११ की ४० वर्षीया नम्रता आले र सोही ठाउँकी ४५ वर्षकी पम्फा घर्तीले कुर्सीबाट जवरजस्ती तानेर लछारपछार गर्दै शारीरिक र मानसिक यातना दिएको उजुरीमा उल्लेख छ । ब्यवस्थापन समिति अध्यक्ष धनबहादुर आलेले पनि आफुलाई बारम्बार मानसिक तनाब दिईरहेको उनले बताएकी छिन् ।
जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै देवकोटा सहितका शिक्षकहरुले अभिभावकको यस्ता गतिविधिले आफुहरुको मनोबल गिरेको बताएका छन् । उनीहरुले नगर शिक्षा समितिमा पुगेर विद्यालयमा प्रधानाध्यापक सम्बन्धी विवाद अन्त्य नहुन्जेल आफुहरुलाई कार्यालयमा नै हाजिरी गर्ने वातावरण बनाइदिन पनि माग गरेका छन् । घटनाका सन्दर्भमा सत्यतथ्य छानविन गरी न्यायोचित निर्णय लिन उनीहरुले नगर शिक्षा समितिलाई आग्रह गरेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर आलेले भने पुस ९ गते सर्वसम्मत रुपमा नेपाली लाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय भएको बताएका छन् । अभिभावकको दबाबका कारण प्रधानाध्यापक परिवर्तन गर्नुपर्ने अबस्था आएको उनको भनाई छ । तर विधि अनुसार ब्यवस्थापन समिति गठन नभएकोे भन्दै केहि अभिभावकले यसअघि नै नगर शिक्षा समितिमा उजूरी दिएका थिए ।
सोही उजूरीबारे छानविन नहुँदै ब्यबस्थापन समितिले महत्वपुर्ण निर्णय गर्नु जायज नरहेको प्रधानाध्यापक देवकोटाले बताएकी छिन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको सदस्य रहेकी देवकोटाले विज्ञप्ति जारी गर्दै सो संगठन परित्याग गरेको बताएकी छिन् । विवाद समाधानका लागि पहल भैरहेको नगर शिक्षा समितिका प्रमुख भरतकाजी अर्यालले बताए । ‘विद्यार्थीलाई मर्का नपर्नेगरी विवाद टुंगाउनुपर्नेछ’ उनले भने ‘विद्यालयमा हार र जितको अबस्था नहोस भन्ने हाम्रो चाहना हो । सबै मिलेर अघि बढ्नुपर्छ । तर केश झांगिएको छ । हामी छिटो समाधानको बाटो खोज्छौ ।’




