
रत्नराज्यकी प्रअलाई तानेर कुर्चीबाट निकाले
गोरखा नगरपालिका १० को रत्न राज्य माविकी प्रधानाध्यापक सरला देवकोटाले आफुलाई जबर्जस्ती प्रअको कुर्चीबाट निकालिएको बताएकी छिन् । दुई जना अभिभावकले आपूm बसिरहेको कुर्चीबाट समातेर जर्बजस्ती हटाएको उनको भनाई छ । ‘बिहानैदेखि स्कुलमा करिब दुईसय जना अभिभावक र गैरअभिभावक को उपस्थिति थियो’ उनले भनिन् ‘दिउँसो ३ः५५ बजेततिरको घटना हो । गोरखा नगरपालिका ११ का पम्फा घर्ती र नम्रता आलेले म बसिरहेको कुर्चिबाट तानेर जर्बजस्ती हटाएर तेजबहादुर सरलाई बसाउनुभयो ।’ विद्यालय ब्यबस्थापन समितिले गत पुस नौ गते प्रधानाध्यापकमा तेजबहादुर नेपालीलाई नियुक्ति गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा अभिभावकहरुले आइतबार देवकोटालाई कुर्चीबाट हटाई नेपालीलाई कुर्चीमा बसालेका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनबहादुर आलेले बताए । ‘प्रधानाध्यापक हटाउन अभि भावकबाट मलाई चर्को दबाब थियो’ उनले भने ‘मैले निर्णय गरेपनि मिसले मान्नुभएको थिएन । आज डेढ सय जना जति अभिभावक स्कुलमै जम्मा भएर नेपालीलाई कुर्चीमा बसालेर ताली बजाएको सुने ।’ अभिभावकले देवकोटालाई जर्बजस्ती गरेको आफुले नदेखेको उनले बताए । विद्यालय ब्यबस्थापन समिति अबैध रहेको भन्दै केहि अभिभावकले छानबीन गर्न यसअघि नै नगरपालिकाको शिक्षा शाखामा निवेदन पनि दिएका थिए । सो विषयमा शिक्षा शाखाले कुनै छिनोफानो नलगाँउदै समितिले आफुलाई पदमुक्त गराउन खोजेको प्रधानाध्यापक देवकोटाले बताईन् । उनले यसअघि नै आफ्नो वृत्ति विकासमा अन्याय भएको भन्दै छानविन गर्न गोरखा नगरपालिकाको शिक्षा शाखामा निवेदन दिएकी थिईन् । गोरखा नगरपालिकाको शिक्षा समितिका अध्यक्ष समेत रहेका मेयर राजन राज पन्तले अबैध ब्यबस्थापन समितिले गरेका निर्णय मान्य नहुने बताएका छन् । ‘बाटोबाट टपप्क टिपेर ल्याएर हेडमास्टर बनाउँदैमा कोहि हेडमास्टर हुँदैन’ उनले भने ‘अबैध ब्यबस्थापन समितिले गरेको अबैध निर्णयलाई नगरपालिकाले मान्यता दिदैन ।’ समितिका अध्यक्षलाई समेत नगर शिक्षा शाखाले मान्यता नदिने पनि उनले बताएका छन् ।




