
माछाखोलाबाट एम्बुलेन्स सेवा सुरु
फ्रान्समा रहेर गोरखाको दुर्गम धार्चे गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मैना एशोसिएशनको सहयोग र माछाखोलास्थित धर्मसिँङ मानवसेवा केन्द्रको समन्वयमा माछाखोलामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।
धार्चे गाउँपालिकामा नै पहिलो पटक सञ्चालन भएको एम्बुलेन्स सेवाको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले बुधबार उद्घाटन गरेका हुन् । उद्घाटन मन्तव्य राख्दै उनले बिरामीले अब छिट्टै अस्पताल पुगेर उपचार सेवा पाउने भन्दै खुशी व्यक्त गरेका थिए । साथै गाउँपालिकाबासीलाई एम्बुलेन्स सेवा प्रदान गर्ने मैना एशोसिएशन र धर्मसिङ मानव सेवाकेन्द्रप्रति आभार व्यक्त गरेका थिए ।
माछाखोलामा रहेर सेवा सञ्चालन हुने एम्बुलेन्सले धार्चे गाउँपालिकाको लाप्राक, गुम्दा, यमगाउँ, लप्सीबोट, लापु, खानीगाउँ, खानीबेशी, लापु, लापुबेशी, काशिगाउँ, केरौंजा, उहिया, चुमनुब्री गाउँपालिका अन्तर्गतका गाउँहरु तथा आरुघाट गाउँपालिकाका गाउँका बिरामी तथा घाइतेको सेवा गर्ने धर्मसिङ मानवसेवाकेन्द्रका धनकुमार गुरुङले जानकारी दिए ।
एम्बुलेन्सको सेवा शुल्क भने जिल्ला एम्बुलेन्स सञ्चालन कार्यविधि तथा गाउँपालिकाले तय गरेअनुसार हुने उनले बताए ।




