
मुटु फाउन्डेसनको स्वास्थ्य शिविरमा चारसय बढीले सेवा लिए
सहिदलखन गाउँपालिका वडा नं ६ घैरुङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, ग्रीन सिटी हस्पिटल काठमाण्डौको प्रविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाण्डौँ र मनोज एसोसिसन फ्रान्सको आर्थिक सहयोगमा सम्पन्न शिविरमा ४ सय ८७ जनाले सेवा लिएका छन् ।
दुई दिने शिविरमा सामान्य स्वास्थ्य परिक्षण, मुटु तथा स्त्री रोग परिक्षण, रगत जाँच, युएसजी, इसीजि पाठेघरको मुखको क्यान्सर परिक्षण लगायतका स्वास्थ्य सेवा दिएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । शिविरमा २०१ जनाले मुटु जाँच गराएका छन् । १६७ जनाले स्त्री रोग सम्बन्धी सेवा लिएका छन् भने ४७५ जनाको रगत जाँच गराएको गुरुङले जानकारी दिए । यस्तै, १६७ जनाले युएसजी र ३६५ जनाले इको सेवा लिएको उनको भनाई छ ।
‘३० जनाले भिआईए जाँच गराउनु भएको छ जसमध्य एकजनामा पाठेघरको मुखको क्यानसर देखिएको छ’, उनले भने, ‘२ जनालाई भने पाठेघर नखस्ने रिङ्ग पेसरी लगाइएको छ ।’ शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बरिष्ठ मुटुरोग विशेषज्ञ डाः सुतप यादव, स्त्री रोग विशेषज्ञ डाक्टर शोभा महर्जन गुरुङ, डाक्टर मोति कुमार, डाक्टर उत्सव आचर्य, डाक्टर अराधाना गुप्ता र डाक्टर प्रतीक्षा ढकाल लगायत चिकित्सकको टोलीले सेवा दिएका थिए ।
सहिदलखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षता एवं गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङ, ग्रीन सिटी हस्पिटलबाट आएको विशेषज्ञ डाक्टरहरुको टिम, घैरुङ स्वास्थ्य चौकीका प्रमुख इश्वर श्रेष्ठ, स्वास्थ्य संयोजक बिरेन्द्र श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।




