
गोरखा जेसिजद्वारा स्वास्थ्य शिविर सम्पन्न
गोरखा जेसिज गोरखाले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जेसिज सप्ताहको चौथो दिन बुधबार स्वास्थ्य शिविर सम्पन्न गरिएको कार्यक्रम संयोजक संगमबाबु श्रेष्ठले बताए । गोरखा नगरपालिका वडा नं. ३ घलाङस्थित राष्ट्रिय माविमा सम्पन्न भएको शिविरमा दुईसय जनाभन्दा धेरै जनाले सेवा लिएको उनले जानकारी दिए ।
संगम मेडिहेल्थ क्लिनिकको प्राविधिक सहयोगमा भएको शिविरमा पेट, मुटु, छाती, प्रेसर, सुगर, दम रगतको ग्रुपिङ जाँचसहित स्क्रिनिङ पनि गरिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । शिविरमा विद्यार्थीलगायत उनीहरुका परिवारको स्वास्थ्य जाँच तथा स्क्रिनिङ गरिएको बताइएको छ । साथै लायन्स क्लब अफ गोरखाको प्राविधिक सहयोगमा आँखा जाँच पनि गरिएको जेसिज गोरखाका अध्यक्ष सुमन गुरुङले बताए ।
आँखा जाँच शिविरमा एकसय २० जनाले सेवा लिएका छन् । जाँचको क्रममा समस्या देखिएकाहरुलाई निशुल्क औषधी वितरण गरिएको कार्यक्रम संयोजक श्रेष्ठले बताए । जेसिज गोरखाका अध्यक्ष गुरुङको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यकममा विद्यालयका प्रधानध्यापक, शिक्षक, जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । बिहिबार बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।




