| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक–लाप्राकमा योग शिविर

बारपाक सुलीकोट गाउँपालिका बारपाक र धार्चे गाउँपालिका लाप्राकमा विशेष योग शिविर सम्पन्न भएको छ । न्यु भिजन नेपाल र थर्ड रक एड्भेन्चर्सको संयुक्त आयोजनामा भएको शिविरमा लियो नारायणगढका ४० जना लियो सदस्यहरूले सहभागिता जनाएका थिए ।

स्वास्थ्य र मानसिक शान्तिका लागि योग महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ शिविर आयोजना गरिएको थियो । शिविरमा सहभागीहरूलाई योग तथा ध्यान अभ्यासको महत्वबारे जानकारी गराइएको थियो । शिविरमा न्यु भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट र सचिव सबनम खड्गीले हठ योग प्रशिक्षण दिएका थिए ।

उनीहरूले शरीरलाई स्वस्थ राख्न सकिने विभिन्न योग मुद्राहरू श्वासप्रश्वास नियन्त्रणका प्रविधिहरू तथा ध्यान प्रविधि सिकाए । शिविरमा विभिन्न चरणहरूमा योगका अभ्यासहरू गराइएका थिए । सहभागीहरूले शारीरिक लचिलोपन बढाउने आसनहरू ध्यान केन्द्रित गर्ने प्रविधिहरू तथा मानसिक शान्ति प्रदान गर्ने सत्रहरूमा सहभागिता जनाए । विशेष गरी हठ योग र प्राणायाम विधिहरूमा विशेष ध्यान दिइएको थियो ।

त्यसै गरी शिविरमा सिङ्गीबल हिलिङ्ग प्रविधि समेत अपनाइयो । सिङ्गीबलबाट ऊर्जा उपचार (हिलिङ्ग) गरेर मानसिक र शारीरिक शिथिलता हटाउने प्रयास गरियो साथै सहभागीहरूलाई साउन्ड थेरापीको माध्यमबाट मानसिक स्थिरता र आत्मशुद्धिका उपायहरू पनि प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्