
निशुल्क घोडा र खच्चड स्वास्थ्य तथा बन्ध्याकरण शिविर सम्पन्न
विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक एकदिने निशुल्क घोडा र खच्चड स्वास्थ्य तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा एनिमल नेपालको प्राविधिक सहयोगमा केही दिन अघि उक्त शिविर सम्पन्न भएको हो ।
चुमनुब्री गाउँपालिकाको वडा नं ३ र ४ मा शिविर सम्पन्न भएको थियो । शिविरमा २९२ वटा घोडा तथा खच्चडहरुको स्वास्थ्य परिक्षण तथा बन्ध्याकरण गराइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । केन्द्रका अनुसार शिविरमा घोडा र खच्चडमा हुने चोटपटक, लङ्गडोपन, र संक्रमणजस्ता समस्याको उपचार गरिइएको थियो ।
यसैगरी, रेबिज र टिटानस विरुद्धको खोप लगाइनुका साथै जनावरहरूको खुर काट्ने, परजीवी बिरुद्धको औषधी दिइने र केही घोडाको बन्ध्याकरणसमेत गरिएको बताइएको छ । भौगोलिक विकटताकाबीच अत्यावश्यक सामान ढुवानी गर्दै स्थानीय जीवनलाई सहज बनाउन तथा आर्थिक गतिविधिलाई सहयोग पु¥याउनमहत्वपूर्ण भूमिका खेलेको घोडा तथा खच्चडको स्वास्थ्यलाई मध्यनजर गरेर शिविर संचालन गरेको भेटेनरी अस्पताल गोरखाको भनाइ छ ।




