
गोरखामा विविध कार्यक्रम गरी विश्व एडस् दिवस मनाइयो
आईतबार ३७ औँ विश्व एडस् दिवस, गोरखा जिल्लामा विविध कार्यक्रमहरु गरी मनाइएको छ । गोरखा अस्पतालको आयोजना तथा ‘एडस् हेल्थ फाउन्डेसन’ एएचएफ नेपालको आर्थिक सहयोगमा विविध कार्यक्रमहरु गरी दिवस मनाइएको हो ।
गोरखा अस्पतालमा अन्तर विभागीय हाजिर जवाफ तथा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको एएचएफ नेपालका रबिन दानीले बताए ।
प्रतियोगितामा अस्पतालको ६ वटा विभागका कार्मचारीहरुले सहभागिता जनाएको उनले जानकारी दिए । ‘एक्सरे, ल्याव, इमर्जेन्सी, ओटी, फारमेसी र म्याटरनिटि गरी ६ वटा विभागहरुबीच प्रतिश्पर्धा भएको थियो’, उनले भने, ‘प्रतियोगितामा इमर्जेन्सी विभाग पहिलो र ओटीविभाग दोस्रो बनेको छ ।’ विजेता टिमले मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले बताएका छन् ।
यस्तै, साँझपख अस्पताल परिसरमा दिप प्रज्वलन गरिएको उनको भनाई छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका एडस् फोकलपर्सन नारायण बाबु अर्याल, गोरखा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मी, आरम्भ संस्थाका सदस्यहरु लगायतले सहभागिता जनाएका थिए ।




