
सिर्दिबासमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा छ सय बढीले सेवा लिए
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिबासमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा छ सय बढीले सेवा लिएका छन् । ३ दिने शिविरको अन्तिम दिन मंगलबारसम्ममा ६ सय १० जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ शाखा प्रमुख प्रेम गुरुङले बताए । ट्रेगर च्यारिटी नेपाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको उनले जानकारी दिए ।
‘संस्थाको सहयोगमा नेपाली तथा मलेसियन गरी १६ जना विशेषज्ञ डाक्टरहरुको टोली र पालिकाकोतर्फबाट स्वास्थ्यकर्मी र स्वयंसेवक गरी २२ जनाले शिविरमा सेवा दिएका थिए’, उनले भने, ‘शिविरमा सामान्य चेकजाँच सहित आँखा, छाला र दाँतको चेकजाँच, स्त्री रोग परीक्षण र अर्थोपेडिक सेवा दिइएको थियो ।’ शिविरबाट वडा नं ३ का बासिन्दाहरुले सेवा लिएको उनले बताएका छन् ।




