
प्रोकमा नेपाली सेनाको निशुल्क स्वास्थ्य शिविर संचालन हुने
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ प्रोकमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाको सहकार्यमा नेपाली सेनाको रिपुमर्दन गणले यही असोज ११ र १२ गते शिविर संचालन गर्न लागेको हो ।
प्रोक तथा आसपासका स्थानीय, नेपाली सेनाबाट अवकाश प्राप्त भुपु सैनिक तथा तिनका आश्रित परिवारहरुलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको रिपुमर्दन गणका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले बताए । बिकट स्थानमा रहेका स्थानीयहरुको स्वास्थ्य उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
शिविरले सेना र जनताबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । शिविरमा जनरल ओ.पि.डि. तथा अन्य विविध रोगहरूको चेकजाँच हुने प्रमुख सेनानी क्षेत्रीले बताए ।




