
जगतमा बिहिबारबाट स्वास्थ्य इकाई सञ्चालन
चुमनुब्री गाउँपालिका वडा नं ३ जगतमा बिहिबारबाट स्वास्थ्य इकाई संचालनमा आएको छ । एक सामाजिक संस्थाले संचालन गरेर बन्द भएको उक्त स्वास्थ्य इकाई पालिकाको पहलमा बिहिबारबाट पुनःसंचालनमा आएको हो ।
‘स्टार लाइट नामक संस्थाले २०७९ सालदेखि यहाँ स्वास्थ्य इकाई संचालनमा ल्याएको थियो’, हाल स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले भने, ‘पछि त्यो संस्थाले छाडेपछि पालिकाकै मातहतमा रहने गरी फेरि संचालनमा आएको छ ।’
जगत स्थित स्वास्थ्य केन्द्रमा स्थानीयहरु बाहेक सल्लेरी, भालुवाङ र धार्चे गाउँपालिकाको यारुदेखि स्वास्थ्य उपचारका लागि मानिसहरु आउने गर्दछन् ।
स्टार लाइट संस्थाको म्याद सकिएपछि स्वास्थ्य इकाई झन्डै एक महिना नै बन्द रह्यो । त्यतिबेला स्थानीयहरुले निकै सास्ती खेप्नु परेको चुमनुब्री–३ का वडाअध्यक्ष रामकुमार गुरुङ बताउँछन् । ‘संस्था गएपछि १ महिना स्वास्थ्य चौकी बन्द भयो’, उनले भने, ‘त्यतिबेला जगत लगायत आसपासका स्थानीबासीहरु सामान्य सिटामोलको लागि पनि ३ घण्टा हिँडेर फिलिम पुग्नुपर्ने बाध्यता थियो ।’
पालिकाकै मातहतमा रहने गरी स्वास्थ्य चौकी संचालनमा आएसँगै स्थानीयहरुलाई धेरै राहत पुगेको वडाअध्यक्ष गुरुङ बताउँछन् । ‘बर्खाको समयमा सामान्य उपचारको लागि पनि फिलिम पुग्नुपर्ने बाध्यता अब रहेन । गाउँमै स्वास्थ्य संस्था भएपछि स्थानीयहरुसँगै यहाँ आउने पर्यटकहरुलाई धेरै सहज हुनेछ’, उनले भने । एक महिनादेखि बन्द रहेको जगत स्वास्थ्य इकाईमा पालकाले एकजना स्वास्थ्यकर्मी खटाएर बिहिबारदेखि संचालनमा ल्याएको हो ।




