
स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिए
गोरखा नगरपालिका वडा नं १२ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा चितवन मेडिकल हस्पिटलको प्राविधिक सहयोगमा शनिवार भएको शिविरमा ३ सय ६३ जनाले सेवा लिएका छन् ।
शिविरमा नाक, कान, घाँटी तथा मुटु जाँच सम्बन्धी सेवा दिइएको वडाध्यक्ष डिलबहादुर थापाले बताए । शिविरमा डा. बिष्णु भट्ट नेतृत्वको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । वडाध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, उपप्रमुख मसलीमाया थोकर लगायतको उपस्थिति रहेको थियो ।




