
बारपाक सुलिकोटमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न
बारपाक सुलिकोट गाउँपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे शाखा र अष्ट्रेलियन सरभिकल क्यान्सर फाउण्डेसनको प्राविधिक सहयोगमा शिविर भएको हो ।
दुर्गम भेगका महिलाहरुमा पाठेघरको क्यान्सर, पाठेघर खस्ने तथा फिस्टुलाको समस्या बढी मात्रामा देखिने हुँदा त्यसलाई न्युनिकरण गर्ने उदेश्यका साथ शिविर संचालन गरिएको पालिका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले बताए । गत जेठ ५ गतेबाट सुरु भएको शिविरमा २५ देखी ६० वर्ष उमेर समुहका ५ सय ७० जनाले सेवा लिएको उनले बताए । शिविरमा अत्याधुनिक प्रविधिको प्रयोग गरी महिलाहरुको पाठेघरको परिक्षण गरिएको थियो ।
वडा नं १, ३, ४, ५ र ७ मा शिविर संचालन भएको थियो । शिविरमा महिलाहरुको पाठेघर जाँच तथा निशुल्क औषधी वितरण गरिएको भट्टले बताए । परिक्षण गराएका मध्ये ५ प्रतिशत महिलाहरुमा भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने जोखिम रहेको पाइएको उनले जानकारी दिए ।




