| मङ्लबार, कार्तिक २४, २०८३

बालबालिकालाई भिटामिन ए खुवाउन शुरु

जिल्लाका बालिबालिकाहरुलाई बिहीवारदेखि भिटामिन ए खुवाउन शुरु गरिएको छ । ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई लक्षित गरी भिटामिन ए क्याप्सुल खुवाउन शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक ६/६ महिनामा संचालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागी जिल्लाभर ६ सय २४ महिला स्वयंसेविकाहरु खटिएका छन् ।

उनीहरुले भिटामिन ‘ए’ सँगै एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाउने जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताए । यो पटक जिल्लाका करिव १३ हजार बालबालिकालाई भिटामिन ए को क्याप्सुल खुवाइने लक्ष्य रहे्को उनले जानकारी दिए । करिव १२ हजारलाई जुकाको औषधी खुवाउने लक्ष्य समेत रहेको उनले बताए ।

सबैभन्दा बढी गोरखा नगरपालिकाका २ हजार ८ सय १४ जनालाई भिटामिन ए खुवाइने बताइएको छ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा करिब ४ सय १ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने लक्ष्य कार्यालयको छ । सरकारले बाल मृत्युदर कम गर्ने उदेश्यले बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाउँदै आएको छ ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ए क्याप्सुल खुवाउन शुरु गरिएको हो । त्यस्तै २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालिएको कार्यालयले जनाएको छ । आज शुक्रवासम्म भिटामिन ए खुवाउने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्