| मङ्लबार, कार्तिक २४, २०८३

फागुन १६ देखि दादुर रुबेला बिरुद्धको खोप अभियान संचालन हुने

९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई लक्षित गरी जिल्लामा दादुरा–रुबेला रोग बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । फागुन १६ गतेदेखि २२ गतेसम्म जिल्लाका सबै वडामा खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियान संचालनका लागि सबै पालिकाका स्वास्थ्य संयोजकसहित अन्य स्वास्थ्यकर्मी र खोप कार्यकर्ताहरुलाई अभिमुखिकरण गरिने कार्यालयका जनस्वास्थ्य निरीक्षक एवं खोप शाखा प्रमुख नानीबाबु दानीले बताए । ‘आजबाट अभिमुखिकरण कार्यक्रम सुरु हुन्छ,’ उनले भने, ‘पालिका अनुसार छुट्टाछुट्टै मिति तोकेका छौँ ।’ उनका अनुसार आज र भोलि गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिने छ ।

त्यस्तै फागुन ३–४ गते आरुघाट र धार्चे, ५–६ गते पालुङटार नगरपालिका, अजिरकोट र चुमनुव्री गाउँपालिका, ७–८ गते सिरानचोक र बारपाक सुलिकोट र ९–१० गते गण्डकी र शहीद लखन गाउँपालिकाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिने उनले जानकारी दिए । उनीहरुलाई खोप लगाउने तरिका, खोपबाट हुने अवाञ्छित घटना न्यूनिकरण गर्ने उपाय, खोप योजना लगायतका बारेमा जानकारी गराइने बताइएको छ ।

यो अभियानमा १४ हजारभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य कार्यालयको छ । खोप माग भइसकेको र केही दिनमा आइपुग्ने कार्यालयले जनाएको छ । यस अभियानमा पाँचबर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप समेत लगाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्