
भीमसेन थापामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु
भीमसेन थापा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएको छ । गाउँपालिकाभित्र रहेका गर्भवती महिलाहरुको गर्भको बच्चाको अबस्था चेकजाँच गर्ने उद्देश्यले स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरुमा भिडियो एक्सरे कार्यक्रम सुरु गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।
‘शनिबारदेखि हाम्रो गाउँपालिकामा ग्रामीण अल्ट्रा साउण्ड कार्यक्रम सुरु भएको छ’, उनले भने, ‘कार्यक्रमअन्तर्गत हरेक महिना प्रत्येक वडाको स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरिन्छ ।’ तालिम प्राप्त नर्सिङ स्टाफहरुले भिडियो एक्सरे गर्ने उनले बताए ।
सो कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले प्रोटेबल एक्सरे मेसिन खरिद गरेको छ । जनशक्ति भने आरुघाट र शहिदलखन गाउँपालिकाबाट आलोपालो गरी समय मिलाएर निम्त्याउने कार्यक्रम रहेको उनले बताए ।
‘हरेक गर्भवतीले तीन महिना, छ महिना, आठ महिना र नौ महिनामा आफ्नो गर्भको परीक्षण गर्नुपर्ने हुन्छ’, उनले भने, ‘कुन दिनमा कुन स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड गरिन्छ, भनेर कार्यक्रम तय गरी उहाँहरुलाई हाम्रा स्वास्थ्यकर्मी स्टाफहरुले फोन गरी बोलाउनु हुन्छ ।’ आगामि दिनमा आफ्नै पालिकाको कर्मचारीलाई २१ दिने तालिम दिएर अल्ट्रासाउण्ड गर्न सक्ने बनाउने उनले बताए ।
निर्धारित समयमा गर्भ परीक्षण गराई स्वास्थ्यचौकीमा सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत आठसय रुपैयाँ र पोषण भत्ता भनेर दुई हजार रुपैयाँ दिने कार्यक्रम रहेको छ ।




