
अष्ट्रेलियामा रहेका जोन घलेद्वारा पत्रकार महासंघ गोरखालाई स्वास्थ्य सामग्री सहयोग
धार्चे गाउँपालिका घर भई हाल अष्ट्रेलियामा रहेर ब्यापार ब्यवसाय गर्दै आएका जोन घलेले पत्रकार महासंघ गोरखालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले पठाएको स्वास्थ्य सामग्री शनिवार गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
दुईहजार थान सर्जिकल मास्क, तीन थान अक्सिमिटर, फेससिल, पाँच थान पिपिई, ग्लोब्स, सेनिटाईजर लगायतका सामग्री सहयोग गरिएको छ । सामग्री हस्तान्तरण गर्दै सांसद अधिकारीले कोभिड १९ को बिपत्तिका बेला अग्रपंक्तिमा खटिने पत्रकारका लागि सामग्री अत्यावश्यक रहेको बताए । साथै उनले सहयोग गर्ने घले र उनको परिवारलाई धन्यवाद दिए ।
पत्रकार महासंघका अध्यक्ष सापकोटाले जोन घलेले गोरखाका पत्रकारहरुका लागि पठाएको स्वास्थ्य सामग्रीले कोरोनाका बेला पनि निरन्तर काममा खटिएका संचारकर्मीलाई सुरक्षित रहन मद्दत पुग्ने भन्दै कृतज्ञता प्रकट गरे ।
घलेले प्रेस संगठन गोरखा, धार्चे गाउँपालिका लगायत बिभिन्न ठाउँमा स्वास्थ्य सामग्री पठाएका छन् । सांसद हरिराज अधिकारी सहितको टोलीले उक्त सामग्री बितरण गर्ने टोलीमा सहभागी नेपाल बिज्ञापन संघका महासचिव कृष्णप्रसाद घिमिरेले बताए ।




