| मङ्लबार, कार्तिक २४, २०८३

तीन दिने कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने

दरौंदी ः तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आईतबार बसेको सरोकारवालाहरुको बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जेठ १४ गते सबै कार्यालयहरुले सरसफाई कार्यक्रम संचालन गर्ने निर्णय भएको छ । जेठ १५ गते प्रभातफेरी कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार उक्त दिन रक्तदान, स्वास्थ्य सचेतना कार्यक्रम, ‘गणतन्त्र दिवसको महत्व र भावी कार्यदिशा’ विषयक बक्तृत्वकला प्रतियोगिता र बृक्षारोपणको कार्यक्रम रहेको छ ।
जेठ १६ गते प्रदेश अस्पताल गोरखाका बिरामी र मानव सेवा आश्रमका बालबालिका हरुलाई फलफुल वितरण गर्ने निर्णय भएको छ । गणतन्त्र दिवस अन्तरगत तीनै दिन विभिन्न स्थानहरुमा दिप प्रज्वलन गरेर दिवस मनाउने निर्णय भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको संयोजकत्वमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्