
नेपाली सेनाद्वारा ताकुकोटको माईकोट माविमा घेराबार
बारपाक सुलिकोट गाउँपालिका ६ को माईकोट माध्यामिक विद्यालयमा नेपाली सेनाले घेराबार लगाईदिएको छ । जाईकाले निर्माण गरेको उक्त विद्यालयमा स्तरीय भबन भएपनि घेराबार नहुँदा विद्यालयमा समस्या रहेको प्रधानाध्यापक रमेश सुबेदीले बताए ।
अहिले नेपाली सैनिक जनहित कार्यक्रम अन्तरगत १० लाख र नेपाली सेनाले जनशक्ति खर्चेर घेराबार लगाईदिएपछि विद्यालय सुरक्षित र विद्यार्थी अनुशासित भएका उनले बताए । उक्त घेराबार सोमवार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको गोरखा स्थित नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए । छ फिट अग्लो फलामे पोलमा ग्याबिन जाली राखेर तारबार गरिएको छ ।

नेपाली सेनाका पश्चिम पृतनापती उपरथी बाबुराम श्रेष्ठले विद्यालयलाई घेराबार हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमा बोल्दै पृतनापती श्रेष्ठले नागरिक र सैनिकबिच संम्बन्ध बिस्तार गर्न सेनाले सामाजिक कार्यहरु निरन्तर गर्दै आएको बताए । सेना जनताको सुरक्षाकालागि भएको तर सेनाले बिप्दमा, बिकास निर्माणमा, संरक्षण धेरै क्षेत्रमा काम गर्दै आएको उनले बताए । साथै उनले सैनिक जनहित कार्यक्रम अन्तरगत बिभिन्न जिल्लामा जनतासँग प्रत्यक्ष जोडिने, सरोकार राख्ने गरी बिभिन्न कार्यक्रम भईरहेको बताए । सिमित साधन स्रोत भएकाले जनताको अपेक्षा अनुसार काम गर्ने बजेट नभएपनि केही न केही संवोधन गर्ने प्रयास स्वरुप समुदायमा काम भईरहेको बताए ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले सेनाले विद्यालयमा गरेको सहयोगले शैक्षिक बतावरण बलियो बनाउन मद्धत पुगेको बताए । साथै उनले विद्यालयमा आवस्यक गेट गाउँपालिकाबाट निर्माण गर्ने आस्वासन दिए । घेराबारपछि छुट्टीको समयमा विद्यार्थी बाहिर जाने, कक्षा छाड्ने दर कम हुने, लामो समय बिदा हुँदा विद्यालयको भौतिक संरचना तोडफोड हुने गरेकाले त्यस्ता काम रोकिने अपेक्षा विद्यालयको छ ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले विद्यालयको भौतिक संरचना, पुस्तकालय, घेराबार, ल्याब, कम्प्यूटर सबै भईसकेपछि अब नतिजामा गुणस्तर देखिने गरी काम गर्नुपर्नेबेला भएको बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गित सँगै नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले सेनालाई प्रशंसा पत्र पनि प्रदान गरेको थियो । कार्यक्रममा नेपाली सेनाका नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी प्रेमबहादुर पुन, अविभाबक लगायातको उपस्थिती थियो ।

गोरखाको रिपुमर्दन गणको सक्रियतामा उक्त काम सम्पन्न भएको हो । गत वर्ष जौवारीमा सेनाले सैनिक जनहित कार्यक्रम अन्तरगतको कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रमको सहजिकरण शिक्षक बिजय भट्टले गरेका थिए ।




