
कुन्दुरटार नहरमा पैसा बगेको बग्यै, २० वर्ष बित्यो पानी बगेन !
दरौँदी नदीबाट पानी ल्याएर पाँच सय हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले निर्माण सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा सुरु भएको २० वर्ष बित्यो तर अझै नहरमा पानी बगेको छैन ।
गोरखा नगरपालिका वडा नं. १०, ११ र १२ मा पर्ने खेतियोग्य जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनाको काम २०६२ मा रोकियो । २०७६ सालदेखि गोरखामा आयोजना कार्यालय स्थापना गरेर काम सुरु भयो । पालुङ्टार कुन्दुरटार सिंचाई आयोजनाले २०७६ बैशाख १ गतेदेखि टेण्डर गराएर नहर निर्माणको काम थाल्यो । निर्माण ब्यवशायीले काममा ढिलासुस्ती गर्दा तीन वर्षमा पनि थालेको काम अधुरै छ ।
मुहानदेखि ३४ सय मिटरसम्मको पहिलो प्याकेज र ३४ सय मिटरदेखि ६३ सय मिटरसम्मको दोस्रो प्याकेजको ठेक्का अन्नपूर्ण कन्ट्रक्सनले लिएको हो । करिब दुई करोडमा लिइएको ठेक्काको काम अहिलेसम्म सम्पन्न भएको छैन । ‘नहर मर्मतको ठेक्का हो, चार पाँच पटक पत्राचार गरेर छिटो निर्माण सक्न भनेका छौँ’, आयोजना प्रमुख दिनेश आचार्यले भने, ‘पहिलो प्याकेजको ४० प्रतिशत भौतिक प्रगति र करिब २५ प्रतिशत बित्तीय प्रगति भएको छ ।’ दोस्रो प्याकेजको भौतिक प्रगति करिब २८ प्रतिशत रहेको आचार्यले बताए ।
नहरसम्म जाने सडक नभएको, कामदार बस्ने ठाउँ सहज नरहेको, निर्माण सामग्री बोकेर ढुवानी गर्नुपर्ने बाध्यता रहेको कारण देखाउँदै निर्माण ब्यवशायीले काममा ढिलासुस्ती गरेका छन् ।
६३ सयदेखि ७८ सयसम्मको रुद्रेश्वर कन्ट्रक्शनले निर्माणको जिम्मा लिएको छ । करिब एक करोडको ठेक्का लागेको उक्त आयोजनामा ६० प्रतिशत काम सकिएको छ । ‘पुस मसान्तसम्म सक्नुपर्ने उक्त प्याकेजको काममा कछुवा गति देखिन्छ’ उनले भने ।

कुन्दुरटार कुलो सरसफाई गर्ने काम उपभोक्ता समितिले पनि जिम्मा लिएको छ । ६० लाख भन्दाबढिको काममा अहिलेसम्म करिब १६ लाखको मात्र प्रगति रहेको आयोजनाका इन्जिनियर भानुभक्त बरालले बताए । ‘बैशाखमा सम्झौता भएर काम सुरु भएको हो, तर सन्तोषजनक रुपमा काम भएको छैन’ इन्जिनियर बरालले भने ‘अहिले पनि काम भने भईरहेको छ ।’ नहरमा बगेको माटो फाल्ने, झाडी पन्छाउने, सरसफाई गर्ने पानी चलेको ठाउँसम्म नियमित पानी चल्ने बनाउने जिम्मा उपभोक्ता समितिले लिएको हो ।
यसअघि उक्त नहर आठ किलोमिटरसम्म मात्रै निर्माण भएको थियो । १७ किलोमिटर निर्माण गर्नुपर्नेमा अझै नौ किलोमिटर बाँकी छ । अहिले ठेक्का लागेको सातसय ७३ मिटर निर्माण पूरा भएपछि छेवेटारको थप एकसय हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने आयोजना कार्यालयले जनाएको छ । यसअघि नहर चलेको ठाउँसम्म करिब सय हेक्टरमा नहरले सिंचाई सुविधा दिँदै आएको छ ।
‘यो धेरै पुरानो आयोजना थियो, अहिले निर्माण गर्दा पहिले नहरको नक्सा कोरिएको ठाउँमा घर बनेको छ, गोठ बनेको छ’ आयोजना प्रमुख आचार्यले भने । २०५९ सालमा प्राविधिकहरुले करिब पाँच करोड नहर पुरा गर्न सकिने स्टमेट गरेका थिए । आयोजनाको काम नहुँदा अहिले लागत लागत कयौँ गुणा बढेको छ । निरन्तर काम भएको खण्डमा पनि वर्ष बढ्दै जाँदा लागत थपिँदै जानेछ ।
सिंचाई आयोजना संचालन नहुँदा अहिले छेवेटार, दशकिलो, कुन्दुरटार लगायत ठाउँका जमिन बाँझो छ । खेतीयोग्य जमिनलाई इट्टाभट्टा र ब्यवशायीक पशुपालन, कुखुरापालनमा प्रयोग गरिएको छ भने केही चउर बनेर बाँझो बसेको छ । आयोजनामा पानी संचालन भएपछि ब्यवशायिक तरकारी खेती र कृषि उत्पादन ब्यवशायिकता बढ्ने गोरखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष प्रदीप कुँवर बताउँछन् ।




