
गण्डकी गाउँपालिका अध्यक्षको पहिलो कदम : प्रशासकीय र वडा भवनको ठेक्का रद्ध
पालिका केन्द्र विवाद बल्झिने संकेत
गण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दीपक तिमिल्सिना(साकार)ले गाउँपालिकाको प्रशासकीय भवन र दुईवटा वडा कार्यालय भवन निर्माणको ठेक्का रद्ध गरेका छन् ।
जनप्रतिनिधि चुनिएको भोलिपल्टै दुईवटा वडा र पालिकाको प्रशासनिक भवनको ठेक्का रद्ध गरेका हुन् ।
आइतवार सूचना जारी गर्दै गाउँपालिकाले प्रशासकीय भवन, वडा नम्बर ६ र ८ को वडा कार्यालय भवन निर्माण सम्बन्धी बैशाख ९ गते प्रकाशित सूचना अनुसार अघि बढेको ई–विडिङको प्रक्रिया रद्ध भएको जनाएको छ ।
जेठ ६ गतेको निर्णय अनुसार उक्त ठेक्का रद्ध गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताए । पहिलो पटक प्रकाशित सूचनाअनुसार गाउँपालिका र वडा नम्बर ६ र ८ को भवन निर्माण ठेक्का आईतवार खुल्नुपथ्र्यो । तर त्यसको ठीक उल्टो ठेक्का खुल्ने दिन ठेक्का रद्धको सुचना प्रकाशित भएको छ । ‘अध्यक्षज्यूको निर्देशनमा टिप्पणी उठाएर उहाँबाट सदर भएपछि ठेक्का रद्ध गरिएको हो’, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ।

इ–विडिङ मार्फत कति जनाले ठेक्का दाखिला गरे भन्ने एकिन छैन । शुक्रवार नै इ–विडिङको सूचना हटाइएको छ । गाउँपालिकाको भवन निर्माणका लागि गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा हाल रहेको प्रशासनिक भवनसँगै जग्गा लिइएको छ । प्रशासकीय भवन निर्माणका लागि स्थानीयले करिब ८ रोपनी जग्गा दान दिएका थिए । उक्त जग्गा गाउँपालिकाको नाममा छ ।
गण्डकी गाउँपालिकाको प्रशासनिक भवनसँगै वडा नम्बर ६ को वडा कार्यालय भवन र ८ को वडा कार्यालयको भवनको ठेक्का पनि रद्ध भएको छ । वडा नम्बर ६ मा एक करोड ३८ लाख ३२ हजार र ८ मा एक करोड ३९ लाख ३९ हजार रुपैयाँमामा ठेक्का आह्वान गरिएको थियो ।
गाउँपालिकाको भवन निर्माणका लागि गाउँसभाले दुईकरोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । उक्त बजेटले भवन निर्माण सम्पन्न नहुने र स्रोत पनि सुनिश्चित नदेखेपछि तत्कालका लागि ठेक्का रद्ध गर्नुपरेको अध्यक्ष दीपक तिमिल्सिनाले बताए । ‘गाउँपालिकाको भवनको विषयमा कार्यपालिकामा र सर्वपक्षीय छलफल आवश्यक छ’, उनले भने, ‘अहिले बजेट के छ भनेर हेरेको, ठेक्का लगाएअनुसार काम गर्न पुग्ने बजेट देखिएन, त्यसैले रद्ध गरिएको हो ।’

गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने गरी छिट्टै ठेक्का प्रक्रिया अघि बढ्ने उनले बताए । ‘वडा कार्यालय र गाउँपालिकाको प्रशासकीय भवन एउटै टेण्डरबाट आह्वान गरिएकाले वडाको पनि रद्ध भएको हो’, अध्यक्ष तिमल्सिनाले भने, ‘वडाको छिट्टै ठेक्का प्रक्रिया अघि बढ्छ ।’
केन्द्र विवादका कारण गण्डकी गाउँपालिकाको प्रशासकीय भवन पाँच वर्षयता निर्माण हुन सकेको थिएन ।
गत महिना टेण्डर भएको भवनको ठेक्का रद्ध भएपछि प्रशासकीय भवन निर्माणमा अन्यौल भएको छ । अहिले गाउँपालिका रहेको ठाउँमा भवन निर्माण गर्न पूर्व गाउँपालिका अध्यक्ष होमबहादुर रानाले प्रक्रिया अघि बढाएका थिए । त्यतिबेला उक्त ठाउँमा गाउँपालिकाको केन्द्र राख्न नहुने अडानमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि थिए ।
कांग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधि बीचको बिवादले गाउँपालिकाको केन्द्र निर्धारणमा किचलो भएको थियो । अहिले माओवादी केन्द्रबाट अध्यक्षमा दिपक तिमिल्सिना निर्वाचित भएपछि केन्द्रको स्थान हेरफेर गर्न ठेक्का रद्ध गरिएको चर्चा चलेको छ । ‘प्रशासनिक भवन सबैलाई सजिलो र पायक पर्ने ठाउँमा हुन्छ’ अध्यक्ष तिमल्सिनाले भने ।




