
जसले जस्तो फोटो पोस्ट गर्छ, उसलाई समाजले त्यसरी नै बुझ्छ
सामाजिक सञ्जाल मनमौजी चलाउनु पर्छ किनभने त्यो निजी मामिला हो । विश्वको सर्वोच्च लोकतान्त्रिक मुलुकमा प्रतिपादित फेसबुकमा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता छ ।
सामाजिक सञ्जाल यसरी चलाउनू भनेर कतै लेखिएको छैन । यत्ति हो कि, जसले जसरी चलाउँछ, उ त्यसरी नै स्थापित हुन्छ ।
धेरै मान्छेमा समसामयिक विषयमा आफ्ना विचार(धारणा) व्यक्त गर्ने हुटहुटी हुन्छ, त्यसैले कुनै क्रिया हुनेवित्तिकै उनीहरुले प्रतिक्रिया जनाइहाल्छन् । प्रतिक्रिया जनाउने, विचार प्रवाह गर्ने निक्कै बलियो माध्यम बनेको छ फेसबुक । फेसबुक लगायतका सामाजिक सञ्जालमा लेखेका विषयले बाँकी अरु धेरैलाई प्रवाहित, प्रभावित गरिरहेको हुन्छ ।
सामाजिक सञ्जालमा आएका विषयबस्तुको गाम्भीर्यता असीम हुन्छ, अमापनीय हुन्छ । अक्सर हल्काफुल्का नै भए पनि यदाकदा यो अदम्य प्रभावशाली पनि भएका उदाहरण छन् । कसैले सहज, सरल रुपमा सामाजिक सञ्जालमा व्यक्त गरेका बिषयले ठूलो जमातलाई तरंगित बनाइरहेको हुन्छ । नियमक निकायलाई गम्भीर बनाइरहेको हुन्छ । त्यसैले यसको संवेदनशीलतालाई मनन गरी प्रयोग गर्नुपर्छ ।
यी अपार बिषय छाडेर, व्यक्तिगत फोटो पोस्टको चर्चा गरौँ । पहिले–पहिले खिचिएका तस्वीर धुलाएर एल्बममा सजाएर राख्ने चलन थियो ।
अनि जमघटमा एल्बम हेर्ने प्रचलन थियो । फेसबुक प्रयोगमा आएपछि त्यस्ता एल्बमको प्रयोग हरायो । फेसबुकमै फोटो सुरक्षित राख्ने, त्यसमै हेर्ने प्रचलनमा आयो । कतिपयले आत्मीयजनसितको फोटो पोस्ट गरेर प्रचार गर्न थाले । कतिपयले आफू कुन नयाँ ठाउँमा पुगेको छु भनेर देखाउन पनि फोटो पोस्ट गर्छन् । कसैले आफू सामाजिक सेवामा सहभागी भएको प्रचार गर्न पनि फोटो पोस्ट गर्छन् ।
विभिन्नले विविध उद्देश्यले फोटो पोस्ट गर्छन् । कसैले विना उद्देश्य पनि पोस्ट गर्छन् । कसैले अरुलाई दिक्क बनाउने गरी जथाभावी पनि फोटो पोस्ट गर्छन् । निचोड यत्ति हो कि, जसले जसरी फोटो पोस्ट गर्छ, उसलाई समाजले त्यसरी नै बुझ्छ ।




