| सोमवार, कार्तिक २३, २०८३

चालकले गल्ती गर्दा सरकारलाई ४० लाख !

ट्राफिक नियमको उलंघन गरेका कारण तपाई कारवाहीमा पर्नुभएको छ ? यदि छ भने कति पटक पर्नुभएको छ ? अनि कारवाहीमा पर्दा तपाईले कति पटक, कति रुपैयाँ जरिवाना तिर्नुभएको छ, सम्झना छ ?


गोरखामा साउनदेखि माघसम्म सवारी नियम उलंघन गर्नेहरुबाट ट्राफिक प्रहरीले जरिवानास्वरुप ४० लाख ४० हजार राजस्व संकलन गरेको छ । चालकको सानो गल्तीले सात महिनामै सरकारी खातामा यती ठुलो रकम जम्मा भएको हो । यो अवधीमा सवारी नियम उलंघन गरेका कारण छ हजार ५० सवारी चालका कारवाहीमा परेका छन् ।


नियम अटेरी गर्नेमा सबैभन्दा धेरै मोटरसाईकल चालक छन् । दुईहजार एकसय ९४ मोटरसाईकल चालकलाई कारवाही गर्दा १४ लाख ५५ हजार पाँच सय रुपैया राजस्व संकलन भएको ट्राफिक प्रमुख प्रेमप्रसाद पोखरेलले बताए ।


नौसय २० वटा ट्याक्टरबाट छ लाख २६ हजार पाँच सय, ११ सय ७७ वटा कारधनीबाट सात लाख ६१ हजार पाँचसय र आठसय ८४ बसबाट पाँचलाख ७९ हजार पाँचसय राजस्व संकलन भएको उनले जानकारी दिए । आठसय ७५ ट्रक/टिपर कारवाहीमा पर्दा छलाख १७ हजार पाँचसय राजस्व संकलन भएको छ ।


अघिल्लो वर्षको तुलनामा चालुवर्ष धेरै राजस्व संकलन गर्ने योजनासहित ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिने गर्छन । गल्ती सुधार गर्न, सुझाब दिनभन्दा पनि प्रहरीले जरिवाना गर्न उद्धत हुने गरेको गुनासो सर्वसाधारणको छ ।


‘चेकजाँचको क्रममा धेरैले लाइसेन्स नलिएको र बिलबुक नविकरण नगरेको भेटिएको छ’, उनले भने । नम्बरप्लेट नभएका, मादकपदार्थ सेवन गरेर सवारी चलाएका, नो पार्किङमा सवारी रोकेका, हेल्मेट नलगाएका तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । एकै खाले गल्ती चालकहरुले पटक–पटक गर्ने गरेका कारण कारवाही बढेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको पहुँच नपुगेकाले नियम उल्लंघन गरी सवारी साधन चलाउने क्रम बढि छ ।


सवारी चालकलाई सचेत गराउन र ट्राफिक नियम पालन गरी सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका मुख्य नाका र सडक खण्डमा दैनिक दुईपटक चेकजाँच गर्ने गरेको उनले जानकारी दिए । ठाँटीपोखरी, आरुघाट, घ्याम्पेशाल, मझुवा–देउराली, १२ किलो, नयाँसाघु गरी जिल्लाका सात ठाउँको अस्थायी प्रहरी पोष्टमा चेकजाँच गर्ने गरेको उनले बताए ।


त्यस्तै, सडक विस्तार भएको ठाउँमा र मानिसहरुको बाक्लो उपस्थिति रहेको ठाउँमा ट्राफिक अस्थायी पोष्ट स्थापना गर्न स्थानीयहरुले माग गर्ने गरेको उनले बताए । धार्चेको माछाखोला, बारपाक सुलिकोटको बारपाक, अजिरकोटको भच्चेक लगायतका स्थानमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न स्थानीयले माग गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्