| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालमा जनशक्ति थपिँदो, विषेशज्ञ नहुँदा रिफर घटेन

गोरखा अस्पतालमा विषेशज्ञ डाक्टर नहुँदा यहाँका बिरामी अन्यत्र रिफर हुनपर्ने बाध्यता छ । ५० शैया क्षमताको गोरखा अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ड, विशेषज्ञ चिकित्सक(कन्सल्याण्ट), अर्थोपेडिक सर्जन, ऐनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन र रेडियोलोजिस्टको दरबन्दी रिक्त छ ।

‘ऐनेस्थेसियोलोजिस्ट नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता छ’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने ‘जनरल फिजिसियन, हाडजोर्नीको डाक्टर हुने हो भने अहिले रिफर भइरहेका अधिकांशलाई यहाँ नै उपचार सेवा दिन सकिन्छ ।’ कतिपय बिरामी भने बिमा सुविधा उपभोग गर्न भन्दै रिफर गरिदिन अस्पताललाई बाध्य पार्छन् । शल्यक्रिया गर्नुपर्ने, हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामी भने यहाँ उपचार नभएर बाध्यताले अन्यत्र जानुपरेको छ ।

अस्पतालमा माघ १ देखि ९ गतेसम्म नौ सय ९५ जनाले ओपिडी सेवा लिएका थिए भने दुईसय १५ जनाले इमरजेन्सी सेवा लिए । अस्पतालमा दैनिक एकसय ३० भन्दाबढि बिरामी सेवा लिन आउने गरेका छन् । अहिले दैनिक कम्तिमा १० जना बिरामी गोरखा अस्पतालबाट रिफर हुने गरेको अस्पतालले जनाएको छ ।।

गतसाता निमित्त मेसु स्त्रीरोग विषेशज्ञ डाक्टर हरिकुमार श्रेष्ठसहित सर्जन एकजना, मानसिक रोग विशेषज्ञ एकजना, स्त्रीरोग विषेशज्ञ एकजना बालरोग विषेशज्ञ एकजना अस्पतालमा हाजिर भएका छन् । थपिएका जनशक्तिलाई सहज रुपमा काम गर्न रिक्त भएको विशेषज्ञ दरबन्दीमा डाक्टर आवश्यक पर्ने अस्पतालका सुचना अधिकारी ढकालले बताए ।

गोरखा अस्पतालमा ५९ जनाको स्थायी दरबन्दीमा १९ मात्र कार्यरत छन् । कार्यक्रम करारतर्फ ३७ जना, कोभिड करार २७ जना, समिति करारतर्फ १० जना र अन्य ११ जना कर्मचारी रहेको अस्पतालले जनाएको छ । अस्पतालमा सबैभन्दा धेरै अफिस असिस्टेन्ट २९ जना, स्टाफनर्स २५ जना कार्यरत छन् । नायब सुब्बा, लेखापाल नहुँदा अस्पतालको प्रशासनिक काममा समेत बाधा पुगेको छ ।

‘स्थायी दरबन्दीको पुरै पदपूर्ती नहुँदा समस्या भएको छ’, सुचना अधिकारी ढकालले भने ‘कोभिड करारको अहिलेका लागि थप जनशक्ति लिइएको हो, कार्यक्रम करारको पनि एक वर्षपछि अन्यत्र जान पाउने सुविधा छ ।’ अहिले गोरखा अस्पताल कार्यक्रम करार र कोभिड करारका कर्मचारीको मद्धतले चलेको छ । स्थायी दरबन्दी पूरा हुने हो भने नियमित सहज सेवा दिन सकिने उनले बताए ।

दरबन्दी गोरखा अस्पतालमा भएका मेडिकल अधिकृत, स्टाफ नर्स, डेण्टल सर्जन लगायतका पाँच जना अध्ययन बिदामा छन् । गोरखा अस्पतालमा २०७६ असार देखि निमित्त मेडिकल सुपरिटेन्डेण्डले काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्