| सोमवार, कार्तिक २३, २०८३

पुल बन्यो गाडी गुडेन, फिस्लिङ पुलमा तीन महिनादेखि छेकबार

पुलको अबरोध आफै हटाउने पालिकाको चेतावनी

गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि वनेको पक्की मोटरेबल पुल वनेको तीन महिना भयो । तयार भएको पुल सुचारु नगर्दा पुल निर्माण भएको तीन महिनासम्म आउजाउ गर्न नपाएको गुनासो स्थानीयले गर्न थालेका छन् ।


‘दशैँ अगावै ढलान भएको पुल अहिलेसम्म आउजाउका लागि खुल्ला गरिएको छैन’, गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भने, ‘बनिसकेको पुलबाट हिँड्न पाउनुप¥यो, पुल किन रोकेको भन्दै सर्वसाधारणले फोन गर्छन् ।’ निर्माण पूरा भएको पुलमा बार लगाइएको छ ।
पुलबाट सवारी साधन हिँड्न दिईँदैन । सवारी साधन आउजाउ गराउन पाएर फिस्लिङसम्म तरकारी ढुवानी गर्न सहज हुने गण्डकी गाउँपालिका वडा नम्बर ६ का स्थानीयको छ । पुल नचल्दा झोलुङ्गे पुलभरि तरकारी बोक्नुपर्ने बाध्यता किसानलाई छ ।


उक्त पुल भएर गण्डकी गाउँपालिकाको केन्द्र सहजै पुगिन्छ । तयार भएको पक्की पुल नचल्दा सिउरेनीटार, दर्बुङ, दलभञ्ज्याङ हुँदै घण्टौँ घुमेर कार्यालय आउजाउ गर्नुपर्ने बाध्यता सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिलाई पनि छ । राजमार्गमा आधा घण्टामा गाउँपालिकाको केन्द्र पुगिने उक्त पुल तत्काल संचालन गर्न गाउँपालिकाले पनि निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको अध्यक्ष रानाले बताए । ‘तीन, चार महिना यता काम गर्ने मान्छे नै छैनन्’, उनले भने ‘अब केही दिनमा पनि पुल सुचारु भएन भने हामी आफैँ पुलमा राखिएको बार हटाएर सुरु गर्ने योजनामा छौँ ।’ लामो समय निर्माण कम्पनीले पुल सुचारु गर्ने सुरसार नगर्दा स्थानीय आक्रोशित छन् ।


पुल महाशाखा काठमाण्डौँले त्रिशुली नदीमाथि बिभिन्न चार वटा पुल निर्माणको ठेक्का लगाएको थियो । उक्त ठेक्का सपना जेभीले लिएको हो । फिस्लिङ पुलको लागत करिब १५ करोड छ । कम्पनीका प्रतिनिधि हरि ढकालले नदीमा पानीको बहाब बढेकाले कामदार डराएको बताए । ‘पुल तयार भईसक्यो, फर्मा खोल्न बाँकी छ, नदी माथि झुण्डिएर काम गर्नुपर्छ’, उनले भने, ‘केही दिनभित्र काम सुरु गर्ने योजनामा छौँ ।’ पुल निर्माण कम्पनीले करिब दुईसय मिटर गण्डकी गाउँपालिका तर्फको सडक पनि ग्राबेल गर्नुपर्छ । उक्त काम पनि बाँकी छ ।

गण्डकी गाउँपालिकाका किसानलाई फिस्लिङ पुल सुचारु भएसँगै तरकारी बिक्री, खाद्यान्न ढुवानी लगायत आउजाउमा निकै सहज हुने गाउँपालिका अध्यक्ष राना बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्