| सोमवार, कार्तिक २३, २०८३

उद्धारमा झण्झटिलो प्रक्रियाले उत्तरी गोरखामा सुत्केरीको मृत्यू

उद्धार गर्ने झण्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा एक सुत्केरीको मृत्यू भएको छ ।

सडक सञ्जालले नजोडिए सो गाउँमा हेलिकोप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यू भएको स्थानीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन् ।


चुमनुब्री गाउँपालिका ६ (साबिक चुम्चेत गाविस) कोम्बाकी २५ बर्षकी हिसे डोमा लामा बिहिबार दिउसो तीनबजे मृत्यू भएको उनले जानकारी दिइन् ।
‘बच्चा त हिजो राती १२ बजे नै जन्मेको रहेछ । २४ घण्टासम्म सालनाल झर्न नसकेर सुत्केरी मरेको रहेछ’, उनले भनिन्, ‘उद्धार गर्न हेलिकोप्टर ल्याण्ड गर्नु र मान्छे मरिसक्यो भनेर फोन आउनु एकैचोटी भयो ।’

बाक्लो हुस्सुका कारण हेलिकोप्टर सो गाउँमा ल्याण्ड गर्न नसकेर छेकम्पारबाट घुमाएर चुम्लिङमा ल्याण्ड गरेको उनले बताइन् ।
सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।


बिहिबार बिहानैदेखि हेलिकोप्टरका लागि प्रक्रिया गर्दागर्दै दिउँसो तीनबजेतिर महिलाको मृत्यू भएको हो ।
हेलिकोप्टरका लागि स्थानीय स्वास्थ्यचौकीले गाउँपालिकाको स्वास्थ्य शाखालाई, स्वास्थ्य शाखाले गाउँपालिका कार्यालयलाई, गाउँपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई र जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् ।


‘प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला’, उनले भनिन्, ‘सबै निकायबाट जतिसक्दो चाँडा प्रयास त गरेका थियौँ तर सुत्केरी बचाउन सकिएन ।’
हेलिकोप्टरमार्फत उद्धार गरिदिनका लागि आफूलाई साँढे बाह्रबजे खबर आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालयमा सवा एकबजे खबर प्राप्त भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए ।

‘मैले सबै प्रक्रिया पूरा गरी महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दा दुईबजेको थियो’, रोकाले भने ।
मन्त्रालयले पठाएको नेपाली सेनाको हेलिकोप्टर चुम्लिङमा ल्याण्ड गर्दा र सुत्केरी मरेको फोन आउँदा तीन बजेको चुम्लिङका लोप्साङ लामा बताउँछन् ।


आकस्मिक बिरामी र घाइतेका लागि कागजपत्र नपर्खी टेलिफोनबाट जानकारी आएकै भरमा चिठी बनाइदिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल बताउँछन् । ‘चिठीपत्र आउँदै गर्छ । फोनबाट जानकारी आएपछि हामीले बनाउने चिठी बनाइहाल्नू भन्ने आदेश दिएको थिएँ’, प्रजिअ पौडेलले भने, ‘उताबाटै खबर आउन ढिला भयो । हामीले त समयमै लेखापढी गरेका थियौँ । कि पालिकाले सिधै मन्त्रालयमा पत्राचार गर्ने व्यवस्था हुनुप¥यो ।’ सरकारले खर्च गरेर यथासक्य छिटो हेलिकोप्टर पठाएको तर सुत्केरीलाई बचाउन नसकिएको उनले बताए ।


‘एकघण्टा छिटो हेलिकोप्टर पु¥याउन सकेको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो’, गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ भन्छिन्, ‘मौसमले पनि साथ दिएन । दिनभरि त्यत्रो मिहिनेत गर्दा पनि सुत्केरी बचाउन सकिएन । निराश भएर बसेको छु ।’
मौसमले पनि साथ नदिएको, टेलिफोन, इन्टरनेट लगायतका प्रविधिले पनि साथ नदिएका कारण चाहेर पनि सुत्केरीको बेलामै उद्धार गर्न नसकिएको वडाअध्यक्ष लोप्साङफुञ्जो लामा बताउँछन् ।

(चुमनुब्री गाउँपालिका ६, खारकोम्बा गाउँ । तस्वीर सौजन्य : धावाग्याल्जेन लामा, छेकम्पार)


सो सुत्केरीलाई उद्धार गरिदिन आफूलाई आठबजे नै खबर आएको छेकम्पारका धावा ग्याल्जेन लामा बताउँछन् । तर सरकारी प्रक्रियागत झञ्झटका कारण आफूले उद्धार गर्न नसकेको उनले बताए । ‘मैले दुईजना बिरामीलाई उद्धार गर्न हेलिकोप्टर चार्टर गर्दै थिएँ । सुत्केरीलाई पनि उद्धार गरिदिनुप¥यो भनेर आठबजेतिर फोन आयो’, उनले भने, ‘दुईजना बिरामीका लागि त सातदिन प्रक्रिया पूरा गरिसकेको थिएँ ।

त्यसमा नयाँ मान्छे राख्न जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नागरिक उड्यन प्राधिकरण सबैतिर प्रक्रिया पु¥याउनु पर्ने हुन्थ्यो जुन मेरालागि असम्भव भयो । यदि छोटो प्रक्रिया भएको भए मेरो हेलिकोप्टरमा सिट पनि खालि थियो । म ल्याइदिने थिएँ ।’ निषेधित क्षेत्र भनेर उत्तरी गोरखामा हेलिकोप्टर उडाउन झञ्झटिलो प्रक्रिया बनाएकोमा उनले दुख व्यक्त गरे ।


चुम्चेत पुग्न सदरमुकामबाट चारदिन पैदल हिड्नुपर्छ । सडक सञ्जालले पनि नजोडिएको, लोक्पामा निरन्तर गइरहने पहिरो र सर्दीभीरको क्याण्टिलिभर पुल पनि भत्किएका कारण पैदल आवतजावत गर्न पनि नसकिने अबस्था रहेको वडाअध्यक्ष लामा बताउँछन् ।
जनजीवन कष्टकर रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्