नारेश्वर जाने बाटो सडक हो कि खोला ! (फोटो फिचर)
आशिषकुमार भट्ट :
नारेश्वर गोरखा सदरमुकामबाट पुग नपुग सात किलोमिटर मात्र छ । सदरमुकामबाट सबैभन्दा नजिक रहेको ग्रामीण क्षेत्र हो नारेश्वर ।
त्यसैले विकासका हिसाबले नारेश्वरमा धेरै पूर्वाधार निर्माण भइसक्नु पर्ने हो तर सबैभन्दा पहिलो विकास भनेर चिनिने सडककै बिगत लामो समयदेखि दुर्दशा छ ।
गोरखा सदरमुकामदेखि नारेश्वर जाने सडक हेर्दा लाग्छ, त्यो सडक हो वा खहरे खोला ! सडकमा साना(हल्का) सवारी साधन गुड्न सक्दैनन् । पैदल यात्रीलाई पनि हिलाम्य हुँदै हिड्नुपर्ने बाध्यता छ ।
नारेश्वर ठूला नेताको गृहनगर पनि हो । केहीसमयअघिसम्म यहाँका नेता रामशरण बस्नेत गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री थिए ।

त्यस हिसाबले पनि बिगत तीनबर्षको अवधिमा सो सडक कालोपत्रे भइसक्नु पर्ने हो ।
पूर्वाधार कार्यालय गोरखाले २०७६ फागुन १४ गते रौताहा/पि.के/गोरखा एप्रोप्रिएट जेभीलाई दुई वर्षमा निर्माण सक्ने गरि २५ करोड ६३ लाख रुपैयाँमा ठेक्का दिएको थियो । १० किलोमिटर लामो गैरीकुवा–नारेश्वर सडक खण्ड पक्की नालीसहित प्रिमिक्स कार्पेट प्रविधिबाट कालोपत्रे गर्ने सम्झौता भएको हो । सम्झौता अवधि सकिन धेरै समय बाँकी छैन । यतिबेला धमाधम स्तरोन्नतिको काम हुनुपर्ने थियो तर उक्त सडकमा कामदार नै देखिँदैनन् ।

निर्माण ब्यवशायी महासंघका केन्द्रीय सदस्य समेत रहेका गोरखा एप्रोप्रियटका प्रोपाइटर उत्तम भट्टबाट अन्य ब्यवशायीले छिटो र गुणस्तरीय काम गर्न सिक्नुपर्नेमा उनकै काम कछुवा गतिमा छ ।
बर्खाका बेला सडकमा गाडी चल्न मिल्नेसम्म बनाउनु पर्ने व्यवस्था छ तर त्यहाँ मान्छे हिड्न पनि मुस्किल अवस्थामा रहेको छ । आपतकालिन समयमा एम्बुलेन्ससम्म पनि चलाउन उक्त बाटोमा सम्भव छैन ।
११ करोड रुपैँया भूक्तानी भइसकेको कार्यालयका इन्जिनियर गणेश सुवेदीले बताए ।

कार्यालयका अनुसार काम भने अहिलेसम्म जम्मा ३५ प्रतिशत मात्र सकिएको छ । ‘कामको म्याद सकिन ८ महिना बाँकी छ भने काम सकिन ६५ प्रतिशत बाँकी छ’, सुवेदी भन्छन् । निर्धारित समयमै काम सक्नेमा निर्माण कार्यालय पनि विस्वस्त देखिँदैन । निर्माण ब्यवशायीले पेटी ठेक्का दिएका ब्यवशायी एक आपसमा बिवाद गरेपछि अन्यौल बढेको कतिपयको विश्लेषण छ । दुई महिना दु्रत गतिमा काम भएको उक्त सडक त्यसयता कछुवा गतिमा छ ।
निर्माण कम्पनीले ठेक्का लिएका सडक स्तरोन्नतिको काम नसक्दासम्म सहजै सवारी आउजाउ गर्न मिल्ने बनाउनुपर्छ । त्यो उसको दायित्व हो । तर कम्पनीले सडकमा गाडी फँस्ने, पहिले जस्तो साना गाडी आउजाउ गर्न नसक्ने हुँदा पनि मर्मतमा चासो नदिएको गुनासो स्थानीयको छ ।

ट्याक्टर पनि फस्छ : स्थानीय
‘रातदिन घर अगाडिको सडकमा ट्याक्टर फस्छ’, नारेश्वरका बाबुराम बस्नेतले भने, ‘ट्याक्सी हिड्ने बाटो पिच हुन्छ तर यहाँ गाडी ट्याक्टर फस्ने भयो ।’
सडकको हिलोमा दिनहूँ सवारी दुर्घटना भइरहेको देख्नु परेको उनको भनाइ छ । ‘दुई वर्ष भयो सडकको बेहाल छ’, उनले भने, ‘दिनदिनै हिलोमा सवारी साधन लड्छ । सडकको हिलोले सवारी साधनमा यात्रा गर्नेलाई मात्र होइन, गाडी आएको देखेपछि सडक छाडेर पैदलयात्रीलाई भाग्नुपर्ने अवस्था छ ।’
हिलाम्य सडकमा जोगिएर हिड्न सर्वसाधारणलाई मुस्किल छ । गोरखा सदरमुकामभित्रकै सडकको अवस्था कन्तबिजोग भएपछि बारम्बार आउजाउ गर्नेहरु निर्माण कम्पनीसँग आक्रोशित छन् । कार्यालयले राम्रोसँग काम लगाउन नसकेको गुनासो पनि उनीहरुको छ ।

काम ढिलो भएको हो : कार्यालय
पूर्वाधार बिकास कार्यालय गोरखाले कामको गति ढिलो भएको स्पष्ट पारेको छ । फागुन मसान्तसम्म स्तरोन्नति पूरा गर्ने समय भएपनि अहिलेसम्म कालोपत्रको काम सुरु नै भएको छैन । नाली निर्माण, पार्खाल लगाउने र सडक चौडा पार्ने काम भने भएको छ ।
कार्यालयका इन्जिनियर गणेश सुवेदीले भने ‘काम ढिलो भएको छ, तर धमाधम गर्ने हो भने सिध्याउन सक्ने समय छ ।’ निर्माण ब्यवशायीले काममा ध्यान नदिँदा समस्या भएको कार्यालयको भनाइ छ ।

अबजस कोरोनालाई
निर्माण ब्यवशायीले भने कोरोनाका कारण समयमै काम गर्न नसकेको बताएका छन् । निर्माण ब्यवशायी उत्तम भट्टले कोरोनाको संक्रमणका कारण मजदुर नपाएको, निरन्तर काम गर्न नसकिएको बताए । साथै उनले एक महिना यता वर्षातका कारण काम नभएको बताए ।
भट्ट भन्छन् ‘डे«नको काम भइरहेको छ, करिब ५ किमि ड्रेनको काम सकिएको छ । रातो माटो पानीको कारण बाटो सम्याउन बित्तिकै खोतलिन्छ र हिलो हुन पुग्छ ।’ ओरालो भएको ठाउँ र घुम्ती भएको ठाउँमा ढलान गर्ने योजना रहेको उनले बताए ।
फागुन मसान्तसम्म सम्पूर्ण १० किलो मिटर सडकको पुरै काम सकिने दावी उनको छ । तर उनले पानी, कोरोना लगायत समस्या नहुँदा काम सिध्याउने बताएका छन् । काम नगर्ने र बाहना, वर्षातलाई दिएका निर्माण ब्यवशायीसँग स्थानीय निकै आक्रोशित छन् ।


