| सोमवार, कार्तिक २३, २०८३

नेपालको विकासका लागि अपनाउनु पर्ने शिक्षा नीति

बद्रीबहादुर मास्के :

देशको विकासका मुल आधार भनेको शिक्षा नीतिनै हो । राणाकालको शिक्षा नीति जनताले पढ्न नपाउने थियो । यतिवेलाको विकास हामी सबैले भोगेका छौं, कुरै गर्नुपरेन । राणाकालको समाप्तिपछि खुलेका विद्यालय तथा पाठशालाहरुका शिक्षा पनि क्षमताका लागि भन्दा योग्यताका लागि मात्र भयो । लक्ष्य र नीतिविनाको शिक्षा भएकोले पटकपटक देशको पध्दति फेरिँदा पनि शिक्षा नीति फेरिएन । पटक पटकको परीक्षणपछि पनि नेपालको शिक्षामा मुलभूत परिवर्तन पटक्कै आएको देखिएन ।

२०७८ साउन १४ को कान्तिपुरमा प्रकाशित विद्वान उत्तमबाबु श्रेष्ठको “हाम्रो अनुसन्धान–वातावरण” लेखका आधारमा शिक्षाका विषयमा कुरा गर्नुपर्दा विश्वको शिक्षा उपलब्धीलाई हेरेर नेपालको शिक्षा नीतिले ०.००१ प्रतिशत पनि काम गरेको देखिन्न । नेपालमा अनुशन्धान गर्ने संस्था सेडा, रिकास्ट, सिनास र सेरिड पनि फड्को मार्नु भन्दा झनै अधोगति लागेको आभाष मिल्यो । यो विशेषज्ञको अडिटेड लेखमा नेपालको शिक्षा नीतिले पटक्कै काम नगरेको देखियो । यस लेखमा उच्चस्तरीय शिक्षाको लेखाजोखा गरिएको भए पनि जगकै शिक्षा नीतिमा चित्त नबुझेको हुँदा केहि छलफल गर्न मन लाग्यो ।

उच्च स्तरीय शिक्षाका विषयमा भन्न सकिन । तर तल्लो तहको शिक्षामा भएको कमी कमजोरीका वारेमा चर्चा गर्न चाहान्छु । ‘नानीमा लागेको बानी ज्यानगए छाड्न सकिन्न’ र ‘दिनको लक्षण विहानीले देखाउँछ’ भन्ने उखान यसै बनाईएको पक्कै होईन । त्यसैले प्राथमिक तहको शिक्षामा बालबच्चाको आनीबानी, नैतिकता, अनुशासन र सभ्यताका बारेमा उनीहरुको बानीमै परिवर्तन ल्याउनु पर्छ । यस विषयमा एक अनुभव बताउन चाहान्छु । बेलायतको भ्रमणमा जाँदा एउटा बच्चा नेपालमा शिक्षा प्राप्त गरेका र अर्को बच्चा बेलायतमा शिक्षा प्राप्त गरेका थिए । उनीहरु संगै भ्रमणमा सहभागी थिए । नेपालमा पढ्ने बच्चा लेखाएको चकलेटको खोस्टाहरु बाटोमै फालि दिए । अनि बेलायतमा पढ्ने बच्चाले “ए यसो गर्नुहुँदैन” भनेर फोहोर टिपेर हातमा लिएर हिड्रयो । अलि पर पुगेपछि त्यो फोहोर यहाँ फाल्नु पर्छ भन्दै नेपालमा पढ्ने बच्चालाई कन्टेनर देखाउँदै फालेर देखायो । बच्चाले पाउनु पर्ने नैतिक शिक्षा यहि नै होईन र ? कति फरक शिक्षा रहेछ भन्ने अनुमान गर्न सकिन्छ ।

अर्को कुरा, यूरोपमा होस् वा चीनमा, विद्यालयस्तरमै पढ्न छाड्ने विद्यार्थीहरुले पनि कुनै न कुनै रोजगार पाउने खालको शिक्षा प्राप्त गरेका हुन्छन् । र समाजलाई चाहिने हरेक तहका टेक्नीसियनहरुको आवश्यक्ता पूरा गर्छन् । उनीहरु वेरोजगार पनि हुँदैनन् । उच्च शिक्षा पढाउने आफ्नो अभिभावककोे क्षमता नहुने युवा युवतीहरुले एक घण्टाभित्र ऋण पाउने व्यवस्था गरिएको छ । नेपालमा पनि यस्तो ऋण पाउने नीति त बनाएका छन्, तर विद्यार्थीहरु ऋण लिन धाउँदा धाउँदा आफै थाकेर ऋण पनि नलिने उच्च शिक्षाको अध्ययन पनि नगर्ने निर्णयमा पुग्छन् । यसरी उत्पादन हुनसक्छ देशमा उच्चस्तरको नागरिक र वैज्ञानिक ?

नेपाल अर्धविकसित मुलुक हो भन्ने हामी सबैलाई थाहा छ । यसैले कतिपय बालकहरु हातमुख जोर्नका लगि कलिलै उमेरमा मजदुरी गर्न बाध्य हुन्छन् । राज्यले यस किसिमको वाध्यता नहोस भनेर नीति ल्याएको देखिन्न । अर्कोतर्फ दुर्गम क्षेत्रका विद्यालयहरुमा शिक्षकको बदमासी नियन्त्रण गर्ने नीति पनि देखिन्न । यसको उदाहरणका लागि मिति २०७७।०२।१० मा दरौंदी अनलाईन पत्रिकामा प्रकाशित शिव उप्रेतीले लेख्नु भएको लेखवाट उद्धृत केहि अंश ः “पेमाथाङ प्रावि बन्द भएको २० वर्षभन्दा बढि भएको थियो । शिक्षक र विद्यार्थी नभएपछि स्कूल आफसेआफ बन्द भएको थियो । शिक्षक सबै तल्लो भेगका थिए । चार पाँच दिनको बाटो हिडेर गएका शिक्षक वर्षमा जम्मा ३० दिन पनि बस्दैनथे ।” “स्कुलमा विद्यार्थीनै आउँदैन । एकदिन, दुईदिन, तिनदिन, कतिदिन बस्ने रित्तो स्कुलमा”? ‘शिक्षक प्रश्न गर्थे’ ।

‘यो उमेरमा म्हेन्दोहरुले स्कुल नदेखेका होइनन्, गाउँमै छ पेमाथाङ्ग प्रावि । उनीहरुका बा त्यहि स्कुलमा भर्ना भएका थिए कुनै दिन । अहिले म्हेदोहरु त्यहि स्कुलको कोठाकोठामा याकचौरी चराउँछन् । बर्षायाममा त झाडीले ढपक्कै ढाक्छ, छिचोल्न पनि नसक्ने गरी । स्कुलमै बस्तुभाउ डुल्छन, हराउँछन् ।’

यसरी शिव उप्रेतीजीले लेख्नु भएजस्तै नेपालका कतिपय स्कुलहरुको अवस्था यस्तै छ । उनले फेरि लेखेका छन् ‘दशैं मान्न गएका मास्टरहरु दशैँ तिहार सकेर कात्तिकको अन्तिम हप्ता, मंसीरको पहिलो हप्तातिर आउँछन् । अनि पुसको एकगते जाडो विदा गरेर झर्छन् । चैतसम्म हिउँपर्ने सिजन । बैशाख जेठ घरमा ढोका थुनेर यार्सागुम्बा टिप्न जाने सिजन, बालबच्चा पनि लेकतिर जान्छन् । असार, साउन, भदौ महिना वर्षा महिना बाटोघाटो हिडिसक्नु हुँदैन । एकैचोटी असोजमा केहिदिन आउँछन् । केहिदिन बसेर दशैँ मान्न जान्छन् । अनि विद्यार्थी कसरी स्कुल जाउन् ? अभिभावकहरु प्रश्न गर्थे ।’

यस्ता छन् नेपालका बालबच्चाहरुको क्यारियर बनाउने स्कुलहरु । तसर्थ, राज्यले विद्यालयका बालबच्चाहरुलाई यूरोपमा जस्तै सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरु जो हातमुख जोर्नका लागि मजदुरी गर्छन् । त्यस्तालाई मजदुरी गर्न नपर्ने गरी भत्ताको व्यवस्था गरोस् । सुगम होस वा दुर्गममा पढाउने शिक्षकहरुको सेवा सुरक्षाको ग्यारेन्टी र अनुगमनको व्यवस्था हुन अत्यन्त जरुरी देखिन्छ ।

नेपालका प्राथमिक र माध्यमिक शिक्षाको पाठ्यक्रममा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यक देखिन्छ । जस्तो कि, हरेक प्राथमिक तहमा नैतिक शिक्षा, अनुशासन र सभ्यताका बारेमा जोड दिनु पर्छ । यस्तैगरी हरेक माध्यमिक तहमा साना साना व्यवहारिक शिक्षामा जोडदिनु पर्छ भन्ने मेरो मान्यता छ । यसले गर्दा राज्यको नागरिक पनि अनुशासित, कुशल र सद्दे हुन्छन् । व्यवहारिक क्षमताले गर्दा आफै रोजगारको सृजना पनि गर्छन ।

अहिले नेपालको शिक्षा जसरी भएपनि प्रमाण पत्र हातपार्ने, उच्च प्राप्तांक पनि होस् । तर, विद्यार्थीको क्यारियर र क्षमता जस्तोसुकै होस । प्राप्तांक मात्र हेरेर राम्रो विद्यार्थीमा गणना गरिन्छ । विद्यार्थीले बुझ्ने गरी पढाउनु पर्ने पाठ्यक्रममा ध्यान दिएको हुँदैन ।


यसै क्रममा एकजना जापानीज प्राध्यापक हाजिमे यामासिताको भनाई सुदर्शन घिमिरेले लेख्नु भएको केहि अंश याद आयो ।


“जापानमा युद्धपश्चात् देशको शिक्षा लगायत पुनर्निर्माणका कार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भैरहेको थियो । यसको मेसोमा अमेरिकी सरकारले जापानमा अमेरिकाकै जस्तो शिक्षा नीति लागु गर्ने सिफारिस ग¥यो । त्यतिबेला अमेरिकामा शिक्षक आफैले स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रम बनाउने र सोहि अनुरुप पढाउने प्रचलन रहेछ । हाम्रो सरकारले पनि सोहि नीतिको अनुसरण गर्र्ने निर्णय ग¥यो । त्यसले हाम्रा शिक्षकहरुमा ठुलो हलचल ल्यायो । किनभने शिक्षकले पहिलोपल्ट आफै सोच्नुपर्ने भयो । त्यसअघि शिक्षकहरु पाठ्यपुस्तकमा भएका कुरा विद्यार्थीलाई रटायर बस्थे । तर अब त शिक्षकले के रटाउने भनेर पनि सोच्नुपर्ने भयो ।”


“समुदायको अवस्था र त्यहाँ ल्याउनु पर्ने परिवर्तनलाई केन्द्रमा राखेर पाठ्यक्रम बनाउन भनियो । साना कक्षामा स्थानीय कुराहरु पढाउन जोड दिईयो भने क्रमशः माथिल्ला कक्षाहरुमा क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका कुराहरु पढाउने नीति लिइयो । तर यसनिम्ति सोच्ने नयाँ पाठ्रयक्रम बनाउने र त्यस अनुसार पढाउने समेत सबै जिम्मेवारी शिक्षकलाई नै दिइयो । जसरी शिक्षकहरुलाई पठ्यक्रम बनाउन दिइयो, त्यसरी नै उनीहरुले विद्यार्थीहरुलाई आफ्ना साथीहरुसंग सिक्न र आफुले जानेका कुरा सिकाउन लगाए । यसका लागि अन्तरक्रिया र समुहमा अध्ययन गर्ने विधि अपनाइयो । कुनै समस्या या विषयवस्तुका बारेमा विद्यार्थीहरुलाई एकापसमा छलफल गर्न लगाइयो । त्यहाँ समस्या आईपरेमा वा नवुझेको कुरा बझाउने काम चाहिं शिक्षकहरुले गर्न थाले । अर्थात शिक्षकको काम छलफललाई सहजीकरण गर्ने मात्र हुन थाल्यो । अमेरिकीहरुले सिकायअनुसार लागु गरेको यो उपाय निकै उपलब्धीमुलक देखियो । यसले विद्यार्थीहरुमा पनि नयाँ कुरा जान्नका लागि खोज्ने र चिन्तनशील हुने संस्कारको थालनी गरायो । जापानको शिक्षाको लागि यो ठुलो टर्निङ्ग प्वाईन्ट थियो । जसले आधुनिक र समृध्द जापान बनाउन निर्णायक योगदान ग¥यो ।’


ठ्याक्कै त्यस्तै छ नेपालको शिक्षा, विद्यार्थीकोे क्षमता अभिवृध्दि गर्ने खालको नभै पाठ्यक्रम रटाउने खालको छ । मलाई एउटा प्रत्यक्ष अनुभव छ,, वि.सं. २०३५ सालतिरको कुरा हो । एकजना जुनियर कर्मचारी जो राजनीतिमा पनि कुनै दलमा सक्रिय आस्था राख्ने गर्दथे, उनले प्राईभेट प्रवेशिका शिक्षामा हाट्टहुट्ट गरेर पास गरे । यसपछि हेल्थ असिष्टेण्ट पढ्न गए । त्यहाँ पनि राजनीतिक आस्थाको भरमा नेतागिरीको आधारमा हाट्टहुट्टमै पास गरे । यत्तिकैमा उनले विद्यार्थी नेता भनेर नाम कमाए । यसपछि त्यहि नाताले एमबिबिएसमा भर्ना पाए । यस व्याचलर कोर्समा पनि विद्यार्थी नेताको अभिनय गर्दै डननीति अपनाई एमबिबिएस पास गरेर आफ्नो राजनीति लिंक मार्फत रजिष्टर्ड पनि गरे । अहिले ती विद्यार्थी औषधी गर्ने डाक्टरको रुपमा क्लिनिक खोलेर बसेका छन् । यस किसिमको उत्पादन नागरिकबाट राज्यले के आशा गर्न सकिन्छ ।


हिमालय टेलिभिजनमा पञ्चायतकालका शिक्षामन्त्री केशरबहादुर विष्टज्यूले भन्नु भएको याद आयो । “पञ्चायत कालदेखि नै विद्यार्थी नेताहरु जुनकुनै तहको भएपनि जब जब परीक्षा आउँथ्यो, जानाजान नाराजुलुस गरी कुनै काण्ड मच्चायो अनि जेलतिर जाने गर्थे । त्यो किन गरेको भने, परीक्षा जेलभित्रै दिन पाईने थियो । त्यहाँ जेलभित्र कुनै न कुनै पढेलेखेका विज्ञ पनि हुन्थे, उनैलाई परीक्षाको उत्तर लेख्न लगाई पास गर्थे ।” अब मनन् गरौँ, यसरी बनेको पढेलेखेका नेताहरुवाट केकति आशा गर्न सकिन्छ । हरेक क्षेत्रमा राजनीतिक पकड यसरी भइरहेकै छ, कर्मचारी यूनियन, विद्यार्थी यूनियन, कृषक यूनियन, मजदुर यूनियन, डाक्टर र ईन्जिनियरको यूनियनको नाममा राजनीति हुनेगर्छ । हुँदाहुँदा कुनै कलेज भर्ना हुन त्यही राजनीतिक यूनियन गुहार्नु पर्ने, उपचार गर्न त्यही राजनीतिक यूनियन गुहार्नु पर्ने, कुनै किसिमको सेवा सहयोग लिनुपरेमा पनि त्यहि राजनीतिक यूनियन गुहार्नु पर्ने, हुँदाहुँदा उपचार गर्न अस्पताल जान पनि कुन खेमाको डाक्टर छ भनेर सोध्नुपर्ने हुनथाल्यो ।


त्यसैले देशको विकास गर्न सकारात्मक सोंच भएका नैतिकवान, सभ्य र कुशल नागरिक उत्पादन गर्न देशको शिक्षानीतिको सुधारबाट नै सम्भव छ । सबै क्षेत्रमा राजनीतिक अखडा बनाएर विकास सम्भव छैन ।


त्यसैले शिक्षामा परिवर्तन ल्याउने तरिकबारे फेरि जापानिज प्राध्यापक हाजीमे यामासीताको भनाई याद आयो ।


“केहि स्कुलहरु घुमेको र शिक्षकहरुसंग कुराकानी गरेको आधारमा भन्नुपर्दा अहिले नेपालको पढाइ परीक्षामुखी छ । जाँच पास गर्नु नै यहाँको पढाईको मुख्या अभीष्ट जस्तो देखिन्छ । जसले गर्दा जीवनका लागि चाहिने आधारभूत सीपहरु सिक्नबाट बालबालिका बञ्चित भैरहेका छन् । अनि शिक्षकहरु कक्षाको अगाडि उभिएर विद्यार्थीलाई निर्देशन दिनमा नै धेरैजसो समय खर्च गरिरहेका देखिन्छन् । तर यो विधिबाट केटाकेटीहरुले खासै सिक्न सक्तैनन् । बरु शिक्षकहरु पछाडिको बेन्चमा बसेर विद्यार्थीलाई कुनै समस्या या नयाँ विषयमा छलफल गर्न दिनु उचित हुन्छ । समाधानको बाटो पहिल्याउने या नयाँनयाँ खोज गर्ने प्रेरणा र अवसर केटाकेटीहरुलाई नै दिनुपर्छ । त्यहाँ शिक्षक राम्रो सहजकर्ता वा केहि हदसम्म मेन्टर बन्ने गर्नु राम्रो हुन्छ ।’


अर्को कुरा, भाषाका कारण विद्यार्थीहरुको सिकाईमा पनि फरक पर्ने गरेको देखिन्छ । मैले फ्रान्सको एल्जास क्षेत्र र जर्मनको सिमानाका स्कुलहरुको अवलोकनमा अनुभव गरेको ती दुवै देशका स्कुलहरुमा आ–आफ्नै भाषामा शिक्षण गरिएको थियो । र यसरी आ–अफ्नै भाषामा उच्च शिक्षासम्म गर्ने गरेका थिए । अनि मैले त्यहाँका साथीहरुलाई सोधेंको थिएँ “किन तपाईहरुको देशमा अङ्ग्रेजी शिक्षामा पढाई हुँदैन ?’ जवाफमा ‘पहिलो आफ्नै भाषाको महत्व हुन्छ, अर्को भाषाले विद्यार्थीको सिक्ने समय बर्बाद पार्छ । सिक्नमा लाग्नुपर्ने समय भाषा सिक्दैमा खेरजान्छ । र बुझाईमा पनि आफ्नो भाषामा जस्तो सजिलो हुँदैन ।’ मलाई उनीहरुको कुरो साह्रै चित्त बुझ्यो । अनि मनमनै भनेँ मेरो देशका नेताहरुले यो कुरालाई ध्यानदिए हुन्थ्यो ।


विकसित देशहरुमा मैले देखेको, विद्यार्थीहरुलाई शिक्षकले जे भने त्यही गर्ने आज्ञापालक नभै आफै चिन्तन गर्ने, सोँच्ने र खोज गर्ने गर्छ । आफ्नो होस् वा देश र समाजको समस्याका विषयमा उनीहरु आफैलाई छलफलमा उतारी निश्कर्ष निकाल्ने गरेको पाइयो । यसले उनीहरुको सोच्ने शक्ति र खोजको विकास हुने देखियो । यहाँ फेरि प्राध्यापक हाजिमे यामासिताको भनाई याद आयो । “हाल नेपालको प्रगति र समृध्दि कृषिमै निर्भर छ । तर परम्परागत विधिवाट अत्यधिक उत्पादन सम्भव छैन । त्यसको निम्ति आधुनिक प्रविधिहरु भित्राउनै पर्छ । यसरी उत्पादित बस्तुलाई सोेझै बजारमा पठाउनुको सट्टा कोल्डस्टोरमा राखेर बेसिजनमा निकाल्ने वा प्रशोधन गरी महँगो मुल्यमा विक्री गर्ने नीति लिनुपर्छ । उदाहरणका लागि भटमास उत्पादन गरी सोझै विक्रि गर्नु भन्दा यसको तेल बनाएर बेच्दा युवायुवतीले रोजगारी पनि पाउँछन् । यसले अरु क्षेत्रमा पनि रोजगारीको सिर्जना हुनसक्छ । यसको लागि प्रविधि भित्र्याउने र उपयोग गर्न सिकाउने सबैभन्दा उपयुक्त माध्यम आखिर विद्यालयहरु नै हुन सक्छन्” ।


जापानिज प्राध्यापक हाजीमे यामासिताको कुराले मलाई फ्रान्स भ्रमणको बेला मनमा खट्केको कुरापनि याद आयो । फ्रान्सको कृषकलाई हेर्दा पहिलो कुरो माटो र हावापानीलाई ध्यान दिई सोही अनुसार उचित बाली लगाएको पाइयो । यसरी गरिएको कृषिमा धेरैजसो सामुदायिक गरिएको देखियो । यसबाट उत्पादन गरेको बालीलाई हाजीमे यामासिताले भनेजस्तै प्रशोधन केन्द्रमा लगेको देखियो । यो प्रशोधन केन्द्र स्थानीय सहकारीले सन्चालन गरेको थियो । र यस प्रशोधन सहकारीमा सबै कृषकहरुको शेयर थियो । यसो भएपछि कृषकलाई बजारको चिन्तापनि नहुने, प्रशोधित सामानको मुनाफा पनि पाउने गरेको देखियो । यो देखेपछि मलाई आफ्नो देशमा यसैगरी नमुनाका कार्यक्रम चलाउन हुन्थ्यो भन्ने ईच्छाले हाम्रा स्कुल र सहकारीमा सामान्य प्रस्ताव राखेको पनि थिएँं । तर यो प्रस्ताव मान्य भएन । यसपछि नेपालको नागरिकमा यस किसिमको क्षमता विकास हुन समय लाग्ने सम्झेर चुपचाप बस्न बाध्य भएको थिएँ ।


जापानिज प्राध्यापक हाजीमे यामासिताको अर्को कुरा पनि महत्वपूर्ण लाग्यो । उनको भनाईमा “शिक्षा नीतिले देशलाई माया गर्ने भावना जगाउनु । नेपाली राजनीतिक नेतृत्वमा देशको समृद्धि र इमान्दारी हुन नसक्नु हो । जुनकुरा धेरै हदसम्म नाजायज पनि होइन । यस निम्ति पनि नेपालको शिक्षा नै जिम्मेवार छ । नेतृत्वले पाएको शिक्षामा कहिँकतै कमि भएकोले यो समस्या देखिएको हो । यसको कमी कमजोरी काहाँनिर छ, पाठ्यक्रममा, शिक्षकमा अथवा अन्य कतै छ भनी पहिचान गरी समस्या समाधानका लागि उचित कदम चाल्नुपर्ने पहिलो प्राथमिकता हो ।’


अन्तमा, विद्यालयहरुको पनि स्पष्ट भिजन हुनु आवश्यक छ । कति कक्षासम्म, कति विद्यार्थीलाई कुनस्तरको दक्ष बनाउने, उसको आचरण र क्षमता कस्तो बनाउने, अनुशासन र नैतिकताका वारेमा आदि आदि । सरकारले निजी विद्यालयलाई प्राथमिकतामा राख्नु हुँदैन । निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुले सरकारी सुविधाहरु नपाउने गरी स्पष्ट नीति निर्माण हुनुपर्छ । विद्यार्थीमा परिवर्तन ल्याउन शिक्षकमा परिवर्तन ल्याउनु जरुरी छ । किनभने प्रायजसो विद्यार्थीहरुले शिक्षकको नक्कल गर्छन् । विद्यार्थीहरुलाई नयाँनयाँ प्रविधिका बारेमा जानाकारी दिलाउने, खोजगर्ने, अनुसन्धान गर्ने अवसर प्रदान गर्नुपर्छ । उनीहरुको दिमागमा शिक्षकले जे जति भरिदिएको हुन्छ उनीहरुको क्षमता पनि त्यति मात्रमा निर्भर गर्छ । देशको नेता होस् वा जनता सबै नागरिक कुशल हुनु आवश्यक छ, यसको उत्पादन गर्ने पहिलो कारखाना विद्यालय नै हो । यसवाट उत्पादन भएको नागरिक क्षमतावान, सभ्यतावान, कुशलवान र अनुशासित भएपछि देशले पनि सोहि अनुसार विकास पाउँनेछ । त्यसैले देशको शिक्षा नीति र पठ्यक्रममा आमुल परिवर्तनको आवश्यक छ भन्ने मेरो व्यक्तिगत धारणा छ । यसो भएमा आगामी पुस्ताका नेता र जनता कुशल निश्कने छन । अस्तुः


(लेखक मास्केः चौध वर्ष निजि विद्यालयको अध्यक्ष र दश वर्ष निजि प्राविधिक शिक्षालयको सन्चालक थिए ।)

प्रतिक्रिया दिनुहोस्