
केश मुण्डन गरेर आमाको काजक्रियामा गोर्खाली छोरीहरु (फोटोहरु सहित)
अन्तिम संस्कार र काजक्रियाका लागि छोरा पाउनै पर्छ भन्ने परम्परागत मान्यतालाई क्रमभंग गर्दै कोभिड १९ बाट आमाको मृत्यू भएपछि गोरखा नगरपालिका १३ देउरालीमा तीन दिदीबहिनीले आमाको काजक्रिया गरेका छन् । ४३ वर्षीया इन्दिरादेवी नरालको मृत्यूपछि उनका छोरीहरु वर्ष १९ की अर्चना, १७ की अर्पना र १४ की आशिका अहिले आमाको काजक्रियामा छन् । छोराले मात्रै काजक्रिया गर्नुपर्छ भन्ने रुढीबादी परम्परालाई परिमार्जन गर्न अर्चना र अर्पनाले कपाल मुण्डन पनि गरेका छन् ।

बाल्यअवस्थामै आमा गुमाउनु पर्दाको पीडाका बीच तीन दिदिबहिनी आमाको इच्छा पूरा गर्न छोरा सरह काजक्रिया गरिरहेको बताउँछन् । ‘हामीलाई आमाले सानैदेखि छोराछोरीमा भेदभाव गर्नुहुन्नथ्यो’ अर्चनाले भनिन् ‘छोरा र छोरी बीच बिभेदको अनुभूति कहिल्यै दिलाउनु भएन । छोराले गर्ने काम तिमीहरुले पनि गर्न सक्छौ भन्नुहुन्थ्यो । आमा बुबाको लागि छोराछोरी नै हामी तीन जना हौँ ।’ आमाले कान्छी छोरी आशिकालाई कपाल नकाट्नु है भनेकाले उनले चाँहि मुण्डन नगरेको बताईन् तर काजक्रिया भने दिदीहरु सँगै गरेकी छिन् ।

‘जेठी छोरी अर्चनालाई जेठको तेस्रो साता कोरोना संक्रमण भयो’, बाबु गणेशप्रसाद नरालले भने ‘त्यसपछि श्रीमती, म र परिवारका पाँचै जना संक्रमित भयौँ ।’ उनले असार १ गते गोरखा अस्पतालमा उपचारकालागि श्रीमतीलाई ल्याए । उचार सम्भव नभएपछि प्रहरी अस्पताल काठमाण्डौँ लगे । ‘श्रीमतीलाई कोभिड भएको थियो, स्वास फेर्न गाह«ो भएको थियो । अक्सिजन लेभल पनि कम थियो’, गणेशप्रसादले भने, ‘उनलाई भेन्टिलेटरमा राखेर उपचार थालियो । भोलिपल्ट (जेठ ३ देखि) म पनि बिरामी परेँ ।’ असार १ गते श्रीमती र ३ गतेदेखि श्रीमान पनि भेन्टिलेटरमा उपचार गर्नुपर्ने अवस्थामा पुगे । आमा बाबु दुबै भेन्टिलेटर थिए । जेठी छोरी अर्चना रेखदेखमा लागिन् ।

‘बुबा आमा दुबैलाई च्याप्दै थियो’, उनले भनिन्, ‘अन्ततः असार ६ गते हामीले ममीलाई गुमायौँ ।’ आमा गुमाउँदा बाबु भेन्टिलेटरमा उपचाररत थिए । उनलाई श्रीमतीको कोभिडका कारण मृत्यू भएको बारे जानकारी दिइएन । छोरीहरु र अस्पतालले पनि उनलाई जानकारी गराएन् । ‘मेरो स्वास्थ्य अवस्था झनै कमजोर हुन सक्छ भनेर मलाई भनेनन्’, गणेशप्रसादले स्मरण गर्दै भने, ‘असार ६ गते भएको मृत्यूको घटना मलाई साउन तीनमा मात्रै थाहा भयो ।’ उनी आठदिन भेन्टिलेटर र १७ दिन आईसियूमा बसेर उपचार गराए । ‘मलाई निको भयो, तर श्रीमतीलाई बचाउन सकिएन’, उनले भने, ‘मेरो स्वास्थ्य अवस्था पनि निकै जटिल थियो ।’

गणेशप्रसाद भुतपूर्व प्रहरी हुन् । उनले उपचारमा केही सहज हुने भन्दै प्रहरी अस्पताल लगेका थिए । त्यसबीचमा दुई छोरीहरुलाई पनि कोभिड भएको थियो । ‘सिङ्गो परिवारलाई नै कोरोना भएपछि हामीलाई निकै चिन्ता भयो’ उनले भने ‘रिपोर्ट नेगेटिभ आएपनि अझै कमजोर महशुस भईरहन्छ ।’ कोभिडले आमा गुमाएका छोरीहरु अन्य धेरै छोरीको आत्माबल बढाउन भन्दै काजक्रियामा बसेका छन् । ‘अहिलेको युगमा छोराछोरी सबै बराबरी हो, हामी काजक्रिया आफैँ गरौँ भनेर तीन दिदिबहिनी सल्लाह ग¥यौँ’ अर्पनाले भनिन् ‘आफन्त र पुरोहीतले पनि सर्पोट गर्नुभयो, अनी हामी काजक्रियामा बस्यौँ ।’ छोराले कपाल मुण्डन गरेर काजक्रिया गर्ने परम्परा रहेको र छोरी पनि छोरा सरह हो भन्ने सन्देश दिन खोजेकाले आफुले केस मुण्डन गरेको उनले बताईन् ।

‘काकाहरुले तिमीहरु सानै छौँ गाह«ो हुन्छ, पछि गरौला अहिले हामी बस्छौँ भन्नुभएको थियो’, उनले भनिन्, ‘हामीले हामी सक्छौँ भन्यौँ, छोरीहरुको आफैँ काजक्रिया गर्ने चाहना छ भने ठिकै छ, हुन्छ बस भन्नुभयो ।’ अहिले छिमेकीहरुले छोरा काजक्रिया बस्दा र छोरी बस्दामा कुनै बिभेद गरेका छैनन् । आफन्त, छिमेकीको राम्रो सपोर्ट पाएको महशुस उनीहरुले गरेका छन् ।
कर्मकाण्ड अनुसार काजक्रियाको विधि चलाईरहेका पण्डित रामेश्वर खनाल भन्छन् ‘नानीहरुले मलाई सोधे, मैले मिल्छ, भनिदिँए । छोरीहरुले पनि काजक्रिया गर्न मिल्छ ।’ धर्मग्रन्थमा छोरीले गर्नुहुँदैन भन्ने नभएको र छोरीलेपनि बाबु आमाको काजक्रिया गर्न मिल्ने उनले बताए । ‘अब समाज परिर्वतन गर्दै लैजानुपर्छ, त्यसका लागि पनि यो सन्देश बन्न सक्छ’ उनले भने ।




