
स्थानीय सरकारको निश्कर्ष : तीन तहको सरकार बीच समन्वयको अभाव, उपभोक्ता समिति असक्षम
स्थानीय सरकारको पाँच आर्थिक बर्षमध्य चार आर्थिक बर्ष सकिएको छ । चारबर्र्षे अभ्यासमा पालिका सरकारले एकै खालको समस्या झेल्नु परेको छ ।
तीन तहको सरकार बीच समन्वय र सहकार्यको अभाव र उपभोक्ता समितिको असक्षमताका कारण अपेक्षित लक्ष्य हाँसिल गर्न नसकेको गोरखाका पालिकाहरुको निश्कर्ष छ ।
निर्धारित काम नगरी पूरै भुक्तानी लिन बल प्रयोग गर्ने उपभोक्ता समितिसँग स्थानीय सरकार आजित भएका छन् । समितिले सन्तोषजनक काम गर्न नसकेको गोरखाका पालिका सरकारहरुको तर्क छ ।
‘चारबर्षको अनुभवमा उपभोक्ता समितिले निर्धारित समयमा निर्धारित काम गर्न नसकेको देखियो’, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ भन्छन्, ‘डिजाइन, स्टमेटअनुसारको कामचाहिँ गर्न नसक्ने अनि पूरै भुक्तानी चाहियो भनेर जनप्रतिनिधि, कर्मचारीहरुलाई आमाचकारी गाली गर्ने गरेको भोगियो ।’ समितिसँग दक्षता, क्षमता, सीप र अनुभवको कमी देखिएको उनको बुझाइ छ ।
बारपाक सुलीकोट गाउँपालिका पनि समितिको काममा सन्तुष्ट छैन ।
नीति, कार्यक्रम र बजेट भएर मात्र नतिजा नहुने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी तर्क गर्छन् । ‘स्रोत, साधनमात्र महत्वपूर्ण कुरा होइन, त्यसको परिचालन महत्वपूर्ण कुरा हो’, उनी भन्छन्, ‘मुख्य समस्या त उपभोक्ता समितिले स्रोत, साधन, परिचालनलाई नतिजासँग जोड्न नसक्नु हो । समितिलाई आर्थिक बर्षको सुरुमै तालिम त दिइन्छ तैपनि उनीहरुमा ज्ञान, सीप र अनुभवको अभाव रह्यो जसले गर्दा सन्तोषजनक नतिजा दिन सकिएन ।’
स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार बीच समन्वयको अभाव पनि प्रगतिमा बाधक बनेको उनको भनाइ छ ।
लामो समयदेखि केन्द्रिकृत ढंगल कार्यक्रम कार्यान्वयन गर्ने गरेको अभ्यासले गर्दा अहिले तीन तहको सरकार बीच तालमेलको अभाव खड्किएको आरुघाट गाउँपालिकाको राय छ । ‘संघ सरकारको कार्यक्रम कहाँ सञ्चालन भइरहेको छ थाहा हुदैन, प्रदेश सरकारको पनि थाहा हुदैन । कहिलेकहीँ त एकै ठाउँमा संघ, प्रदेश र स्थानीय सरकारको कार्यक्रम सञ्चालन भइरहेको हुन्छ’, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल भन्छन्, ‘संघ र प्रदेशको त परको कुरा, छिमेकी पालिकाबीच पनि समन्वय र सहकार्यको अभ्यास भएको छैन ।
कतिपय कार्यक्रम छिमेकी पालिकाहरुले सामुहिक रुपमा गर्दा प्रभावकारी हुन्थ्यो तर त्यस्तो देखिदैन ।’ डोजर लगाउने शिवाय उपभोक्ता समितिले अन्य काममा जाँगर लगाएर नगर्ने गरेको उनले बताए ।
व्यवसायिक निर्माण व्यवसायी, दक्ष उपभोक्ता समिति नहुँदा कार्यक्रम कार्यान्वयनमा कठिनाइ भएको शहीद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले बताउँछन् । ‘उपभोक्ता समितिले काम गर्न पाउनु पर्छ भनेर चर्को आवाज चाहिँ आउँछ तर समितिले कार्यस्थल, कामको ढाचा जस्ता कुरामा पनि साझा धारणा बनाउन सक्दैनन्’, उनले भने, ‘कामको जिम्मा लिने तर समयमा काम नथाल्ने, सम्पन्न नगर्ने समस्या देखिन्छ ।
समितिमा दक्ष, जानेबुझेका मान्छे हुँदा रहेनछन् । त्यसैले समितिमा रहनेहरुलाई सशक्तिकरण, सबलीकरण गर्नुपर्ने देखिन्छ ।’
तीन तहको सरकार बीचको समन्वय र सहकार्यको अभाव चारबर्षदेखि झेल्नु परेको आलेले बताए । ‘चार बर्षदेखि नै योजना छनौट, कार्यान्वयन र अनुगमनमा तीनै तहको सरकार बीच समन्वय अभाव देखियो’, उनले भने ।




