| सोमवार, कार्तिक २३, २०८३

आरुघाट गाउँपालिले ‘आमासँग स्वयंसेविका’ कार्यक्रम संचालन गर्ने

घरमा प्रसुती हुने दरलाई सून्य बनाई स्वास्थ्यसंस्थामा सुत्केरी हुने दर बढाउन र गर्भवती, सुत्केरी महिला, नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिँदै गोरखाको आरुघाट गाउँपालिकाले ‘आमासंँग स्वयमसेविका’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गर्भवती महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउन र महिला स्वास्थ्य स्वयम्सेविकालाई थप जिम्मेवार बनाउन उक्त कार्यक्रमा संचालन गरिने गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए । ‘गर्भवती महिलाको निशुल्क प्रयोगशाला परीक्षण र सुत्केरी पोषण कार्यक्रम पनि संचालन गर्नेछौँ’ बुधवार सम्पन्न नवौँ गाउँ सभामा अध्यक्ष दाहालले भने ।
मोवाईल स्वास्थ्य सेवालाई निरन्तरता दिने, जटिल प्रकृतिको रोग लागेका बिरामीको उपचारकालागि ५० हजार आर्थिक सहयोग गरिने, आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयामा स्तरोन्नती गर्ने जस्ता कार्यक्रम आउँदो आर्थिक बर्षका लागि आरुघाट गाउँपालिकाले सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष दाहालले कृषि अन्तर्गत प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्ने, धान मकै कोदो र आलुको पकेट क्षेत्र निर्धारण गरी बिस्तार गर्ने, बिदेशबाट फर्किएकाले कृषि, पशुपालन व्यवसाय गरेमा अनुदान दिने जस्ता कार्यक्रम गाउँपालिकाले ल्याएको बताए ।
शिक्षा अन्र्तगत आधारभुत विद्यालयमा एउटा कम्प्यूटर, प्रिन्टर, फोटोकपीको ब्यवस्था गर्ने, पालिका भित्रका सबै विद्यालयमा इन्टरनेट पु¥याउने लक्ष्य आगामी वर्ष गाउँपालिकाले लिएको छ । एक देखि तीन कक्षासम्म मातृभाषमा पठनपाठन गर्ने ब्यवस्था मिलाउने, एसईईमा गाउँपालिकाभरिबाट उत्कृष्ट छात्रछात्रालाई ७५ हजार पुरस्कारको ब्यवस्था गरिने अध्यक्ष दाहालले बताए ।
एसईईमा बी प्लस वा सो भन्दामाथि ग्रेड ल्याएका प्राविधिक धार पढ्न चाहने अति बिपन्न र द्वन्द्व पिडितबाट ५ जना, दलिततर्फबाट ५ जनालाई उच्च शिक्षा अध्ययनका लागि एक पटक ५०÷५० हजार उपलब्ध गराउने नीति आरुघाट गाउँपालिकाले लिएको छ । कक्षा ६–८ का विद्यार्थीलाई दिवा खाजाको ब्यवस्था गर्ने कार्यक्रम आरुघाटले तय गरेको छ ।
गाउँपालिकाभित्र सडक निर्माण गर्दा बाटो, खानेपानी, सिंचाई कुलो जस्ता सानो आयोजनामा क्षति पुगेको खण्डमा पुनःनिर्माण गर्नुपर्ने भए सोही आयोजनाबाट गर्ने ब्यवस्था गाउँपालिकाले गरेको छ । पालिकाभित्र सडकको रेखदेख गर्न सडक हेरालु राख्ने ब्यवस्था प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत गरिने अध्यक्ष पूर्ण दाहालले बताए ।
वडा नम्बर ३ र ४ को भबन निर्माण प्रक्रिया अघि बढाउने र आधारभुतर स्वास्थ्य केन्द्र निर्माणको थालनी गर्ने कार्यक्रम गाउँपालिकाको छ ।
गाउँपालिकाका विभिन्न बस्तीहरुमा हालसम्म पनि राष्ट्रिय प्रशारण लाईन नपुगेको, विद्युतिकरण नभएको ठाउँमा बैकल्पिक उर्जा प्रर्वद्धन गरिनेछ । बाढीबाट प्रभावित हुन सोती बजार, आर्खेत बजार, बूढीगण्डकीको तटिय क्षेत्र र पहिरोको जोखिम रहेको ठाउँमा संरक्षण तथा जोखिम नियन्त्रणको पहल गरिने अध्यक्ष दाहालले बताए । गाउँपालिका भित्र हुन सक्ने बिपद्को बारेमा माध्यमिक विद्यालय सतरीय सचेतना कार्यक्रम संचालन गरिनेछ ।
बूढीगण्डकी आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा तत्काल बितरण गर्न दबाव दिने, सिघ्र बितरण गर्ने पहल गर्ने नीति पालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले नवौँ गाउँसभामा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्