| आइतवार, कार्तिक २२, २०८३

गोरखा जिल्लामा पाँच हजार तीनसय मेट्रिक टन रसायनिक मलको माग

गोरखा जिल्लाका लागि चालु वर्ष पाँच हजार तीन सय मेट्रिक टन रसायनिक मल आवश्यक पर्ने भएको छ । दुईवटा नगरपालिका सहित सात गाउँपालिकाले कृषि ज्ञान केन्द्र सँग उक्त परिणाममा मल माग गरेका हुन् ।

आर्थिक वर्ष २०७७÷७८ का लागि कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय पोखरासँग मल माग गरेको ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । नौ वटा स्थानीय तहले यूरीया तिन हजार पाँच सय २९ मेट्रिकटन, डिएपि एक हजार दुई सय १८ मेटिूकटन र पोटास पाँच सय ५३ मेट्रिक टन माग माग गरेका छन् ।

रसायनिक मल सबैभन्दा धेरै माग गर्नेमा भिमसेन थापा गाउँपालिका रहेको छ भने थोरै माग गर्ने धार्चे गाउँपालिका रहेको छ । भिमसेन थापा गाउँपालिकाले छ सय दुई मेट्रिक टन यूरीया, दुई सय २५ मेट्रिक टन डिएपी, र पोटास ३५ मेट्रिक टन माग गरेको हो । धार्चे गाउँपालिकाले यूरिया, डिएपी र पोटास एक÷एक टन माग गरेको ज्ञान केन्द्रले जनाएको छ ।

गाोरखा नगरपाकिकाले पाँच सय ३० मेट्रिक टन यूरिया, एक सय ६६ मेट्रिकटन डिएपी र एक सय ६६ मेट्रिक टन पोटास माग गरेको छ । पालुङटार नगरपालिकाले दुई सय मेट्रिक टन युरिया, एक सय मेट्रिक टन डिएपी र ५० मेट्रिक टन पोटास मल माग गरेको कार्यालय प्रमुख अधिकारीले बताए । शहिदलखन गाउँपालिकाले नौ सय १० मेट्रिक टन, बारपाक सुलिकोटले छ सय ३८ मेट्रिक टन, गण्डकी गाउँपालिकाले पाँच सय, आरुघाट गाउँपालिकाले छ सय ९८ र सिरानचोक गाउँपालिकाले चार सय ३२ मेट्रिक टन मल माग गरेका ज्ञान केन्द्रले जनाएको छ ।

स्थानीय तहले कृषि ज्ञान केन्द्रलाई मलको प्रकार सहित बिवरण खुलाएर उपलब्ध गराईदिन पत्राचार गरेका हुन् । उक्त शहकारी मार्फत स्थानीय तहले ल्याएर आफ्नो सेवा क्षेत्र भित्रका किसानलाई बितरण गर्ने गर्छन् । यस अघि ज्ञान केन्द्रको सिफारिसमा मल ढुवानी गर्ने कोटा तोकिन्थ्यो । गत वर्षदेखि स्थानीय तहले ज्ञान केन्द्रको समन्वयमा मल ल्याउन सिफारिस दिने गरेका हुन् ।

गोरखाका दूई गाउँपालिका अजिरकोट र चुमनुब्रीले भने कुनै पनि प्रकारको रसायनिक मलको माग गरेका छैनन् । मकै रोप्ने,तरकारी, धान लगाउने समयमा मलको माग धेरै हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताए । एकै पटक माग धेरै हुने हुँदा मूख्यत धान रोप्ने सिजनमा मल हाहाकार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्