| आइतवार, कार्तिक २२, २०८३

भबन बनेको सात महिनासम्म हस्तान्तरण भएन, भाडाकै घरमा अदालत

भबन निर्माण गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) र निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण गत असारमा निर्माण सम्पन्न भइसकेको गोरखा जिल्ला अदालतको भवन सात महिना बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।
जिल्लाकै ठुलो र सुविधा सम्पन्न बनेको अदालत भबन हस्तान्तरण नहुँदा अदालत अहिले पनि मासिक ६४ हजार रुपैयाँ भाडा तिरेर कार्य सम्पादन गर्न बाध्य छ ।
२०७५ बैशाख १ गतेदेखि भाडाको घरबाट सेवा दिन थालेको अदालतले कष्टपूणर् ढंगले सेवा प्रवाह गर्दै आएको श्रेस्तेदार बिनोदप्रसाद अधिकारीले बताए । भाडाको घरमा सेवाग्राहीका लागि उपयुक्त ठाउँ छैन । सवारी पार्किङ, इजलासको राम्रो प्रबन्ध छैन ।
केही सेवाग्राही र अधिवक्ताहरु भेला भएका बेला अदालतमा निकै भिडभाड देखिन्छ । तर नयाँ निर्माण भएको सुविधासम्पन्न भबन अहिलेसम्म प्रयोगबिहिन रहेको श्रेस्तेदार अधिकारीले बताए । गत असारमा तयार भएको भबन अहिलेसम्म हस्तान्तरण नहुँदा सेवा सुरु गर्न नपाएको श्रेस्तेदार अधिकारीले बताए । ‘हामीलाई अहिले सम्म हस्तान्तरणको चिठी पठाएका छैनन्’ उनले भने ‘पटक-पटक हामीले सम्पर्क गर्दा कहिलेकाँही आउने त्यसपछि बेवास्ता गर्छन ।’ नयाँ बनेको भबनमा बिग्रिएको र सुधार गर्नुपर्ने काम बताउँदै कार्यालय र ब्यवशायी नै सम्पर्कमा नआउने गरेको उनले गुनासो गरे ।
गोरखा जिल्ला अदालतले पछिल्लो पटक फेरि सोमवार पनि जिल्ला आयोजना कार्यन्वयन ईकाई (भबन) लाई पत्राचार गरेको छ । निर्माणसम्पन्न नयाँ भबन हस्तान्तरणमा भएको ढिलाइबारे सो पत्रमा चासो राखिएको छ । ‘न्यायाधिशज्यू समेतबाट बारम्बार फोन सम्पर्क गरी भबनको बाँकी निर्माण कार्यहरु अविलम्ब सम्पन्न गरी हस्तान्तरण गर्न अनुरोध गरिएकोमा त्यहाँको कार्यालयको पहल देखिएन’, अदालतले पत्रमा उल्लेख गरेको छ । नयाँ भबन हस्तान्तरण नगरेका कारण गत भदौ देखि घरभाडा बुझाउन नसकिएको श्रेस्तेदार घिमिरेले बताए । ‘कार्यालयले ढिला गर्दा अदालतको फजुल खर्च बढेको छ’ उनले भने ।

बाँकी काम भए तत्काल सकेर हस्तान्तरण गर्न भन्दै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला प्रशासन कार्यालयलाई बोदार्थ दिँदै अदालते पत्राचार गरेको छ । असारमा सम्पन्न नभएपछि मंसिरमा हस्तान्तरण गर्ने योजना बनेको थियो । तर हस्तान्तरणको मिति पटक-पटक धकेलिएको अदालतले गुनासो गरेको छ ।
१६ करोड १४ लाख रुपैयाँ लागतमा तुलसी भक्त कन्ट्रक्सन प्रालीले उक्त भबन निर्माणको जिम्मा लिएको हो । भबन बाहिरबाट चिटिक्क छ । गोरखाको सरकारी कार्यालयमध्ये अदालत भबनम लिफ्टको समेत सुविधा छ ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले अदालतले स-साना काम देखाएर स्टमेट भन्दा बाहिर काम लगाउँदा ढिला भएको बताईन् । ‘भबन पहिल्यै तयार भएको हो, त्यहाँ बिजुली बत्तीको भोल्टेज थप्नु पर्दा समय लाग्यो, स-साना कामले यसै रोकिएको छ’ उनले भनिन् । बाँकी रहेका काम एक वर्ष भित्र निर्माण कम्पनीले गरिदिने, बिग्रिएमा बनाउने सम्झौता हुने भएकाले भबन लिन अदालतलाई समस्या नहुनपर्ने उनले बताईन् ।
यता अदालतले भने निर्माण ब्यवशायीले सम्झौता भए अनुसार तयार गरेर बुझाउनै नआएको बताएका छन् । ‘फर्निचर पनि गत शुक्रवार मात्रै पुरै ल्याएका हुन्’ अदालका श्रेस्तेदार घिमिरेले भने ‘थ्रीफेज लाईन जोड्दा पनि लिफ्ट चलेन भन्छन्, सुचारु नभएको सामग्री हामीले कसरी बुझ्ने ।’ अदालत भबनसँगै निर्माण भएका अन्य कार्यालयबाट भने सेवा सुरु भईसकेको छ । निर्माण कम्पनी र काम लगाउने कार्यालयको मिलेमतोमा भबन हस्तान्तरण ढिला भएको गुनासो अदालतका कर्मचारीको छ । सम्झौतामा भएअनुसारको काम सम्पन्न नगरी निर्माण कम्पनीले हस्तान्तरण गर्न मात्रै हतारो गरेको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्