| सोमवार, कार्तिक २३, २०८३

बगुवाको मिलन बस्तिको अधुरै घरमा सर्न थाले भुकम्प पीडित

भिमसेन थापा गाउँपालिका वडा नम्बर ५ बगुवाको लामाचौरमा निर्माण भएको एकीकृत मिलन बस्ती निर्माण पुरा नहुँदै भुकम्प पीडितहरु सर्न थालेका छन् । भुकम्पको ६ वर्ष बितिसक्दा घर निर्माण पुरा नभएपछि स्थानीय आफ्नो घर लिँदै बाँकी काम आफैँले गर्दै सर्न थालेका हुन् ।

‘अहिले सम्म १२ घर सरिसकेका छन्’ छ महिना अघि सरेका सुरेन्द्र श्रेष्ठले भने ‘प्लास्टर, पेन्टिङ, पिँढी बनाउँदा दुई लाख ६५ हजार खर्च भईसक्यो, अझै घर तयार भएको छैन, म बिदेश थिएँ, अहिले आफैँ आएर बाँकी काम गर्दैछु ।’ २०७२ सालको भुकम्पका कारण बिस्थापित घरधुरीलाई एकीकृत मिलन बस्तीमा सार्ने गरी समिति मार्फत बस्ती निर्माण सुरु भएको थियो । सरकारले भुकम्प पीडितलाई दिने तीन लाख र घरधनीले थप तीन लाख लगानी गरेर दुई तले चार कोठाको घर पाएका स्थानीयले प्लास्टर, पिँढी, मर्मत लगायतका अन्य काम भने आफैँ गर्नुपर्नेछ ।

निर्माण समितिले घर छाएर घरधनीलाई दिनेछ । ‘फिनिसिङ गरेर घर चिटिक्क बनाउन कम्तीमा पाँच लाख रुपैयाँ थप लाग्छ’ घर सर्ने तरखर गर्दै गरेका स्थानीय नारायण श्रेष्ठले भने । उक्त बस्तिमा सबै घरको काम एकै पटक अघि नबढेपछि तत्काल घर आवस्यक भएकाहरु आफैँ मर्मत गर्दै सर्दै गरेका हुन् । एक वर्ष अघि सरेका ७५ वर्षिय बलबहादुर श्रेष्ठ भन्छन् ‘पुरानो घर बेसीमा थियो, अहिले यहाँ सरेका हौँ, बस्तुभाउ बेसीमा नै छ, गाउँबेसी गर्छौँ ।’ भुकम्पले घर भत्काएपछि टहरामा बस्दा निकै सास्ती भएको गुनासो गर्दै उनले बस्नका लागि नयाँ घरमा सजिलो भएको बताए । ‘चर्पी पनि घर भित्रै छ, हामी जस्तो बुढाबुढीलाई सजिलो भएको छ’ उनले भने । बस्ती भित्र सडक, ढल, खानेपानी, बस्ती भित्रको रेटनिङवालको काम बाँकी छ ।

४२ घरधुरीको तेस्रो किस्ता रकम आउन बाँकी भएको निर्माण समितिका उपाध्यक्ष कुमार श्रेष्ठले बताए । ‘त्यो पैसा आएपछि हामी बाँकी घर पनि सम्पन्न गर्छौँ’ उनले भने ‘बैशाख सम्म सक्ने लक्ष्य छ ।’ जग्गा प्राप्ती, हरेकलाई लालपुर्जा बितरण, बस्ती निर्माण गर्न दाताको खोजी लगायत कारणले निर्माण सुरु गर्नमा ढिलाई भएको उनले बताए ।

वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले बस्ती भित्र खानेपानी, सडक, ढल लगायतका कामको लागि बजेट अभाव भएको बताए । ‘खानेपानी र सडकको केही काम भएको छ’ उनले भने ‘ढल ब्यवस्थापनका लागि काम गर्न बजेट अभाव भएपछि माग गरिएको छ ।’ जिल्ला आयोजना कार्यन्वयन ईकाई (भबन)बाट थप बजेट माग गरी पठाएको उनले बताए ।

बस्ती निर्माण ढिला हुँदा वडा नम्बर ५ को धरमपानी, रिठ्ठेपानी, पाण्डेगाउँ, नयाँगाउँ र डाँडागाउँका स्थानीयलाई टहरामा गुजारा चलाउनुपर्ने बाध्यता छ । कतिपयले पुरानै घर टालेर, नयाँ टहरा बनाएर बसेका छन् । ०४४ सालदेखि चिरा परेको बस्ती भुकम्पले थप जोखिम पारेपछि स्थानान्तरणको योजना बनेको थियो । करिब दुई सय रोपनी जग्गा एकै ठाउँमा लिएर एक सय पाँच रोपनीमा घर निर्माण गरिएको छ । एउटा परिवारका लागि छ आना जग्गा पुर्जा सहित दिइएको छ । कसको घर कुन हो भन्ने पनि यकिन भईसक्यो । बस्तीको भित्र कच्ची सडक छ । बिजुलीको पोल, खानेपानी, सडक स्तरोन्नती लगायतका काम बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्