| आइतवार, कार्तिक २२, २०८३

नेपालकै पहिलो वातावरण मैत्री इट्टा उद्योग गोरखाको च्याङ्लीमा संचालनमा

गोरखाको च्याङ्लीमा नेपालकै पहिलो वातावरण मैत्री इट्टा उद्योग संचालनमा आएको छ । सिमेन्ट र माटोको मिश्रणबाट अत्याधुनिक कोरियन प्रविधिमा विद्युतको माध्यमबाट इट्टा तयार गरिन्छ ।

यसरी इट्टा तयार गर्दा परम्परागत रुपमा भट्टामा पोलेको जस्तो धुवाँ तथा धुलो हुँदैन ।
पाँच जना व्यवसायी मिलेर तीन करोड लगानीमा २५ रोपनी जग्गा भाडामा लिएर उद्योग सुरु गरेका छन् । ‘पहिले चिम्नीवाला इटाभट्टा खोल्ने योजना थियो’, संचालक हरेराम श्रेष्ठले भने, ‘वातावरण प्रदुषण हुने भएपछि वातावरणमैैत्री प्रविधि नेपालमा पनि भित्र्याउने योजना सहित हामीले सुरु गर्‍यौँ ।’

नेपालमा पहिलो पटक गोरखा इनोटेक प्रालीले गोरखाको पालुङ्टार नगरपालिका च्याङ्लीमा यो प्रविधिको उद्योग सुरु गरेको हो ।
पाँच जना कामदार अहिले उद्योगमा कार्यरत छन् । दैनिक आठदेखि १२ हजार इट्टा उद्योगले तयार गर्छ । ‘फुलफेजमा उद्योग चलाउने हो भने प्रतिघण्टा तीन हजार भन्दाबढि तयार गर्न सकिन्छ’, संचालक बिकास श्रेष्ठले भने । भट्टाबाट चल्ने उद्योग वातावरण मैत्री नभएको, जंगल, बस्तीको छेउछाउमा राख्दा पर्यावरणीय दृष्टिकोणले उपयुक्त नहुने भन्दै घरेलु तथा साना उद्योग कार्यालयले संचालन अनुमति दिँदैन । ‘हामीले बिजुलीबाट इट्टा बनाउँदा भट्टामा दाउराले पोलेको भन्दा फरक प्रविधिबाट तयार गर्छौँ’ संचालक श्रेष्ठले भने ।
यहाँबाट उत्पादित प्रतिइट्टा दुई हजार छ सय ग्रामको हुन्छ । सिमेन्ट १० र ९० प्रतिशत माटाको मिश्रणबाट इट्टा तयार गरिन्छ ।

मेसिनबाट तयार भएको इट्टा दुई साता राखेपछि सहजै ढुवानी गर्न मिल्छ । कम फुट्ने, चिल्लो आकारको बलियो इट्टा तयार हुने संचालक श्रेष्ठ बताउँछन् । उद्योगले प्रतिगोटा १४ रुपैयाँमा बिक्री गर्दै आएको छ । ‘सबै इट्टा एउटै आकार, एउटै गुणस्तरको हुन्छ’ उनले भने ।
ब्लक, इन्टरब्लक, इट्टा उद्योगले तयार गर्दै आएको छ ।

२०७६ चैतदेखि उद्योग संचालन गर्ने तयारी गरेपनि कोभिडका कारण गत मंसिरबाट मात्र सुरु भएको संचालक बिकास श्रेष्ठले भने । ‘ल्याबमा परीक्षण गराएका छौँ, इट्टाको बलियोपना तीन दशमलव पाँच हुनुपर्छ भन्ने मान्यता छ’ उनले भने ‘तर हाम्रो प्रविधिबाट तयार गरेको इट्टाको बलियोपना आठ प्रतिशत छ ।’ इट्टा प्रयोग गरेको ठाउँमा आकार राम्रो देखिने, थोरै इट्टा लाग्ने, लेउ नलाग्ने हुँदा मेसिनबाट तयार भएको इट्टा प्रयोग गर्न पनि सजिलो रहेको संचालकहरु बताउँछन् ।
‘यो प्रविधिबाट इट्टा तयार हुँदा वातावरणमा खासै प्रभाव पर्दैन’, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले भने, ‘सबै उद्योगहरु वातावरणमैत्री हुनुपर्छ, बिस्तारै प्रविधिमा जानुको बिकल्प छैन ।’ विद्युतबाट चल्ने उद्योगलाई बत्ती नहुँदा भने समस्या हुन्छ । घरेलु तथा साना उद्योग कार्यालयले दाउराबाट इट्टा पोल्ने उद्योगलाई अहिले संचालन अनुमति रोकेको छ ।

जिल्लामा चलेका काठ दाउराबाट पोल्ने भट्टाका इट्टा उद्योगले जस्तो बतावरणीय प्रदुषण नगर्ने भएकाले उक्त उद्योग पर्यावरणीय दृष्टिकोणले पनि उपयुक्त रहेको डिभिजन बन कार्यालयका अधिकृत महेश पौडेल बताउँछन् । ‘वातावरण संरक्षणमा उद्योग कलकारखानाको चुनौति थपिँदो छ’, उनले भने ‘बनजंगल बिनास हुनबाट रोक्नका लागि पनि यो प्रविधि उपयुक्त हुन्छ ।’ धुवाँ धुलो नहुँदा वातावरण स्वच्छ र सुरक्षित हुने भएकाले प्रविधिको विकाससँगै ब्यवस्थित प्रयोगमा जोड दिनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्