| सोमवार, कार्तिक २३, २०८३

फेसबुकमा पोष्ट भएका सरकारी सूचना, विज्ञापन वैध हुँदैन : प्रेस काउन्सिल

गोरखामा अधिकांश स्थानीय तहले आफ्ना सूचना तथा विज्ञापन सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेर सार्वजनिक गर्न थालेपछि आलोचना हुन थालेको छ ।

स्थानीय तहले सार्वजनिक गर्नुपर्ने सुचना सञ्चार माध्यमबाट नगरी सामाजिक सञ्जालबाट गर्ने र त्यसैलाई आधिकारी मान्ने गरेको विषय आलोचित बनेको हो ।
सरकारी कार्यालय वा गैरसरकारी कार्यालयले सार्वजनिक गर्नुपर्ने सूचना पत्रपत्रिका, रेडियो, अनलाईन, टेलिभिजनबाटै सार्वजनिक गर्नुपर्ने प्रेस काउन्सिल नेपालले स्पष्ट पारेको छ ।

प्रेस काउन्सिल र पत्रकारबीच गोरखा सदरमुकाममा बुधवार भएको अन्तरक्रियामा गोरखाका पत्रकारहरुले अहिले अधिकांश कार्यालयले सूचना फेसबुकमा मात्रै पोष्ट गर्ने गरेको, सञ्चारका लागि आएको बजेट फ्रिज पठाएको गुनासो गरेका थिए ।


फेसबुक मेनस्ट्रिमका सञ्चार माध्यम नभई र सार्वजनिक सूचना, खरिद बिक्री लगायत जनताको चासोका विषयलाई सामाजिक सञ्जालको मात्रै आधार बनाउनुले सम्बन्धित कार्यालयको परदर्शितामा प्रश्न उठाउन सकिने काउन्सिलका प्रवक्ता एवं बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले बताए ।
प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ गोरखाको समन्वयमा भएको अन्तक्रिया कार्यक्रममा सञ्चार माध्यमले भोग्नुपरेका समस्या, कोभिडको प्रभाव, ध्यान दिनुपर्ने पक्ष, सञ्चारगृह र पत्रकारलाई परेका समस्याका बारेमा छलफल भएको थियो ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य चेतनाथ धमलाले काउन्सिल अविभावकत्व ग्रहण गर्ने संस्था भएकाले पत्रकारहरुलाई परेको समस्यामा संगसंगै अघि बढ्ने बताए ।

कोभिड १९ को प्रभावका बीच पनि सञ्चार माध्याम र सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले प्रेस काउन्सिलले नियमित अनुगमन र मूल्याङ्कन गरिरहेको जानकारी दिए ।
काउन्सिलका प्रवक्ता एवं बरिष्ठ प्रशासकीय अधिकृत खनालले कोभिडको प्रभावका कारण पत्रपत्रिकालाई परेको समस्याबारे काउन्सिल जानकार रहेको र नीतिगत निर्णयका लागि पहल गरिरहेको बताए ।

साथै उनले सञ्चारगृहका कारण सञ्चारकर्मीलाई परेको समस्याबारेमा काउन्सिलमा जानकारी गराउन पनि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्