
मुस्लिम समुदायको महानपर्व रमदान, यसको परिचय र महत्व

अहमद रजा मिया :
मुस्लिमहरुको एक महिने व्रत र धर्मदान इस्लामिक क्यालेण्डर को नवौ महिना रमजान शुरू भएलगत्तै संसार भरी छरिएर रहेका मुसलमानहरु धनिको महल र गरिबको छाप्रो दुबै ठाउमा खुशियालीको माहोल शुरू हुन्छ।
शाबान (इस्लामिक आठौं महिना) को अन्त्य सँगै आकाशमा चंद्रोदय भएर रमजान महिना शुरू हुन्छ। गरिबहरुले पनि यो पुण्यको काम गर्न सक्ने हुँदा यसलाई छुट्टै र विशेष महत्त्व का साथ हेरिन्छ। रमजान महिनाभरी मुस्लिम हरु रोजा (ब्रत) बस्छन।
रोजा भनेको के हो?
सुबह सादिक (सूर्योदय हुनुभन्दा करीब १.५ घण्टा अघि) देखि सूर्यास्त सम्म कुनै पनि प्रकारको खानपिन र संभोग बाट बच्नुलाई रोजा भनिन्छ। ब्रत राख्नका लागि बिहान खाने खानालाई सेहरि भनिन्छ भने ब्रत तोड्नेलाई इफ्तारि भनिन्छ।
रोजा कहिले बाट शुरू भएको हो ?
रोजाको इतिहास सम्झनुपर्दा सन् २ हिज्री अर्थात आज भन्दा करीब १४३९ बर्ष अघि धनी, गरिब, राजा देखि रंक सबैका निम्ति सामुहिक रुपमा एकैचोटी, एकैसाथ, एउटै कर्म, एउटै बिशेष महिना रमजान भरि मुस्लिमहरुमा ब्रत बस्नु अनिवार्य गरिएको हो।
नेपालमा कहिले बाट रोजा शुरू हुदैछ ?
नेपाल लगायत अरु दक्षिण एशियाली राष्ट्र जस्तै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, माल्दिभ्समा यही बैशाख १३ गते शनिवार वा १४ गते आइतबार देखी रोजा शुरू हुदैछ।
के सबै मुस्लिमले रोजा (ब्रत) राख्नुपर्छ?
धनि, गरिब, होस भएको, बालिग (युवा अबस्था) महिला पुरुष दुबैले ब्रत राख्नु अनिवार्य छ। तर बच्चा, बिरामी, वृद्धवृद्धा, गर्भवती, स्तनपान गराउन पर्ने, रजस्वला भएकी महिलालाई निश्चित समय सम्मका लागि मात्र (पछि दोहोर्याउन पर्ने गरि) ब्रत न राख्न छूट गरिएको छ।
के ब्रत को बेलामा थुक निल्दा रोजा टुट्छ?
सामान्य रुपमा पाचन प्रक्रियाका लागि जति थुक निस्कन्छ र जसरी निल्ने प्रक्रिया भैरहेको हुन्छ त्यो गर्दा रोजा टुट्दैन। ब्रत अबधिभर के गर्न हुदैन? अस्लिल क्रियाकलाप (सम्भोग पनि), अरुको निन्दा, अरुलाई दु:ख दिने, झुटो कुरा, झगड़ा र अरु केही पनि अनैतिक र नराम्रो काम गर्न हुदैन।
रोजा मा खास के गरिन्छ?
तुलनात्मक रुपमा अरु महिना भन्दा यो महिनामा राम्रो, असल, नेक काम गर्यो भने यस्को प्रतिफल धेरै पाउने धार्मिक बिश्वास भएकाले मुस्लिमहरु यो महिनामा धेरै भन्दा धेरै गरिब हरुलाई दान दिने, खाना खुवाउने, जकात (धर्मदान) दिने, पबित्र धर्मग्रंथ (कुरान) पाठ गर्ने, आफन्त हरुसंग भेट्घाट गर्ने गर्छन। यो महिनाका लागि मात्र तोकिएको अतिरिक्त २० रकातको ‘तराविह’ को नमाज (प्राथना) रातिको समयमा सबै मिलेर मस्जिदमा पढ्ने गर्दछन्। त्यस्तै रमदान महिनाको अन्तिम १० दिनमा एक वा एक भन्दा बढि मानिसहरु मस्जिदमा गुप्तबासको रुपमा बस्ने प्रचलन रहेको छ। नोट: दुनियाँभरि अहिले कोरोना नामक महामारी फैलिएको कारण सामुहिक रूपमा गर्नु पर्ने सम्पूर्ण कार्य हरु आफ्नै घरमा बसेर गर्नुहुन अनुरोध गरिएको छ।
के रमजान महिनामा खानै हुदैन ?
व्रत अबधिभर अर्थात बिहान सुबह सादिक (सुर्योदय भन्दा करिब १.५ घन्टा अघि) देखि सुर्यास्त सम्म मात्र खान हुदैन। उक्त समय अघि र पछि अरु महिनाको जस्तै सामान्य रुपमा खानपिन गरिन्छ।
जकात (धर्मदान) भनेको के हो ?
इस्लाम धर्म स्वार्थी हरु को शत्रु हो। कसै सङ्ग पैसाको भकारी र कोहि एक टुक्रा रोटिका लागि माग्दै हिड्न नपरोस र सबैले आफु एकै समुदायमा समान रुपमा रहेको अनुभुति गरुन, एकआपसमा बन्धुत्व, सहानुभूति, सहअस्तित्व तथा पारस्परिक सम्बन्ध कायम राख्न, आर्थिक प्रणालीलाई ब्यबस्थित गरि गरिब र धनि बिच रहेको असमानतालाई कम गर्दै गरिबले पनि आधारभुत आबश्यकता पूरा गर्न सक्ने आर्थिक ब्यबस्था कायम गर्न, धनिहरुले आफ्नो आधारभूत आवस्यकता पूरा गरेपछि, बाँकि रहेको धनसम्पतिको मूल्य यदि ७.५ तोला सुन वा ५२.५ तोला चादिको मूल्य वा सो भन्दा धेरै छ भने आफ्नो सम्पत्तिबाट २.५℅ दान गर्नुलाई जकात भनिन्छ। यो दान घर, रुपैया पैसा, पसल, गररगहना, सवारि साधन, टेलिफोन, किताब, जनावर, अन्नबाली सबैमा लागू हुन्छ।
धर्मदान (जकात) नदिदा के हुन्छ ?
इस्लामिक नीतिनियाम, कानुन भएको ठाउँमा जकात नदिने लाई उक्त ठाउको प्रमुखले जबर्जस्ति भएपनि असुल गर्ने अधिकार राख्छन। त्यस्तै महाप्रलय को दिन जकात नदिने लाई नर्क सजाए हुने धार्मिक बिश्वास रहेको छ।
जकात (धर्मदान) कस्तो ब्यक्तिमा खर्च गर्नुपर्छ ?
गरिब, असहाय, बिद्यार्थी, बिध्यालय (मदरसा), बेखर्ची यात्रु आदिमा नगद खर्च गर्नुपर्छ। तोकिएको समूह बाहेकको मा खर्च गर्दा उक्त धर्मदान दिएको ठहरिदैन।
रोजा कसरी समाप्त हुन्छ ?
रमजान महिनाको अन्त्य भएपछि चंद्रोदय भएर इस्लामिक अर्को महिना शुरू हुन्छ र उक्त महिनाको पहिलो दिनलाई ‘ईदुलफित्र’ नाम दिई मुस्लिम हरु हर्सोल्लासका साथ इद मनाउने गर्छन। सबैमा रमजानको हार्दिक शुभकामना।
(Ahamadraza5@gmail.com)
(लेखक चितवन मेडिकल कलेजमा एम.बि.बि.एस. चौथो बर्षमा अध्ययनरत छन् ।)




