| शनिबार, बैशाख ८, २०८१

दैनिक ५० टन काँक्रो मिल्काउँछन गण्डकी गाउँपालिकाका किसान

घरको पिँडीमा, करेसाको छेउमा, बारीमा, बाटोमा चारैतिर देख्दै लोभलाग्दो कांक्रो मिल्किएको छ । आँखाले देखुन्जेल बारीमा छपक्कै फलेको पनि । सडक छेउमा त्यस्तै मिल्किएको । केही ठाउँमा त गाईगोरुलाई खुवाईएको थियो । गत वर्ष यो सिजनमा बजारमा काँक्रो लगेर बिक्री गर्दा फुर्सद नपाउने किसान अहिले गहभरी आँसु बनाएर लटरम्म फलेको काँक्रो टिप्दै मिल्काउँदै छन् । कारण ः कांक्रो बेचेर खनखन्ती पैसा गन्ने सिजनमा लकडाउनले काँक्रो बिक्री भएको छैन ।
‘खेत मासेर तरकारी खेती थालियो, अहिले यसरी काँक्रो फाल्नुपरेको छ’ अध्याँरो अनुहार लगाएर गण्डकी गाउँपालिका ६ खानीखोलाकि धनमाया श्रेष्ठले भनिन् ‘गत वर्ष काँक्रो बेचेर पाँच लाख लिएको थिएँ, अहिले ५० हजार पनि लिन सकिन ।’ उनको बारीमा काँक्रो बिक्री गर्ने मध्ये सिजन भएको छ । बिक्री नभएपछि अहिले टिप्दै मिल्काउने, बारी खाली गर्ने तयारीमा छिन् । ‘तने बोडी लगाउने सिजन सुरु हुन लाग्यो, बोडी बेच्ने बेला पनि काँक्रोको हालत भयो र बिक्री गर्न सकिएन भने भोकै मरिन्छ’ धनमायाले भनिन् ‘तरकारी छाडेर मकै लगाउने घर सल्लाह भएको छ ।’ काँक्रो झिकेर खाली जग्गामा स्थानीयले तरकारी खेती गर्छन । ‘धेरै दुःख गरेर नुनतेल खाने, छोराछोरी पढाउने पैसा जोहो गर्न लगाएको काँक्रो बिक्री भएन’ उनले भनिन् ‘अहिले बारीमा जान मन पनि लाग्दैन, भक्कानो छुट्छ ।’


गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले ५० टन काँक्रो उत्पादन भएको बताए । एक टन भन्टा, पाँच सय टन बन्दा, पाँच सय टन काउली, दुई क्विन्टल गोलभेडा र ११ हजार वटा अण्डा गाउँपालिका भित्रका किसानले दैनिक उत्पादन गरिरहेका छन् । ‘कृषि उत्पादनले अहिले बजार पाएको छैन, लकडाउनको असरले किसान मारमा परेका छन्, लगानी मात्रै भएपनि उठाउने गरी बिक्री गर्ने बतावरण मिलाउने प्रयत्न गरिरहेका छौँ, सकेका छैनौँ’ उनले भने । बन्दा प्रतिकिलो २०, काउली २५, गोलभेडा ५५, भन्टा १० रुपैयाँ होलसेल मूल्यमा पनि बिक्री नभएको उनले बताए ।
एक दुई जना होईन, गण्डकी गाउँपालिकाको भुम्लिचोक, तङ्लिचोक, घ्याल्चोक, बुटार लगायत ठाउँमा किसानले ब्यवशायी खेती गर्छन । पृथ्वीराजमार्ग नजिकै रहेकाले त्यहाँका किसानको मुख्य बजार राजमार्ग भएर राजधानी हो । अहिले लकडाउनको कारण सवारी साधन चलेको छैन । किसानको बारीमा तयार भएको तरकारी र काँक्रो सडेको छ । तीन हजार पाँच सय बिरुवा लगाएका लिलामान श्रेष्ठले गत वर्ष ६ लाख लिएका थिए अहिले उनलाई एक लाख लिन मुस्किल छ ।
किसानले टनेल बनाएर, थाँक्रो हालेर, भिटामिन छर्किएर निकै मेहनतले थोपा सिंचाई, पाईप सिंचाई गरेर काँक्रो फलाएका छन् । भैरवी कृषि सहकारी संकलन केन्द्रका केरबहादुर श्रेष्ठले भने ‘एक दुई जनाले होईन, सबैजसोले अहिले दैनिक ५० हजार लिने सिजन हो, २०, ३० टन सम्म एक जनाले काँक्रो बिक्री गर्थे, तर अहिले गाडी नचल्दा बिक्री सुन्य भो ।’ उनका अनुसार बजारमा माग पनि घटेको छ । १२ रुपैयाँ देखि २० रुपैयाँ होलसेल मूल्यमा थोरै बिक्री भएको छ । ‘सस्तोमा बिक्री गर्दा पनि ४० रुपैयाँ घटेको थाहा थिएन’ केरबहादुरले भने ।
हरेक दिन किसानले टेलिफोन गरेर बिक्री गर्ने चाँजोपाँजो मिलाईदिन हारगुहार गर्ने गरेका गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । ‘यहाँका जनता तकारी बिक्री गरेर खाद्यान्न किनेर खाने गर्छन’ उनले भने ‘यो अवस्था रहिरहने हो भने किसानको लगानी सबै खेर जाने भयो, उनीहरु सबैलाई बिहान बेलुकी खाने प्रबन्ध गर्नुपर्ने अवस्था आउँछ ।’ गाउँपालिका भित्र तरकारीको उत्पादन धेरै भएको र बजार नहुँदा ब्यवस्थापन गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्