| मङ्लबार, कार्तिक २६, २०७६

चुम उपत्यकामा बन्यो अत्याधुनिक सुविधा सम्पन्न चुमगुम्बा (फोटो फिचरसहित)

 

अहिंसा उपत्यकाको भनेर चिनिने चुम उपत्यकामा सातसय बर्ष प्राचीन चुमगुम्बाको पुनर्निर्माण गरिएको छ । चुमनुब्री गाउँपालिका ७ लामागाउँमा निर्मित सो गुम्बाको हालै उद्घाटन गरिएको छ ।

छ दिन लामो पूजापछि लामा गुरु खेम्पो लामा पेमाले गुम्बाको विधिवत रुपमा उद्घाटन गरेका वडा अध्यक्ष लामा पासाङले जानकारी दिए ।
गुम्बा उद्घाटनको अवसरमा आयोजित पूजामा अमेरिकाका नौ जना लामा गुरु, काठमाडौंका बिभिन्न गुम्बाबाट चारसय जना लामा गुरु र स्थानीय गुम्बाका लामा गुरुहरु सहभागी भएका वडा अध्यक्ष तथा सो गुम्बा निर्माणकर्ता लामा पासाङले जानकारी दिए ।

करिब १५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गुम्बामा मुख्य पूजा कोठासहित ४१ वटा कोठाहरु रहेका छन् । सो गुम्बामा नित्य पूजाकोठा, आवास कक्ष, करुणा क्लिनिक, विद्यालय, अतिथि कक्ष लगायत सञ्चालन गर्ने लक्ष्य रहेको लामा पासाङले जानकारी दिए ।
करिब सातसय प्राचीन छेक्यो गुम्बाको नाम परिवर्तन गरी चुमगुम्बा बनाइएको उनले बताए ।

‘चुम उपत्यकाकै साझा गुम्बाको रुपमा चुम गुम्बा बनाइएको हो’, उनले भने, ‘गुम्बा त आ–आफ्नो टोलटोलमा हुने गर्छ । तर यसलाई साझा गुम्बाको रुपमा विकास गर्ने लक्ष्य छ ।’

छेकम्पार घर भई हाल क्यानडामा रहेका धुङसे पेमा छेवाङ लामाको सहयोगमा सो गुम्बा निर्माण गरिएको स्थानीय छाङ लामाले बताए । काठमाडौंका गुम्बाहरु सरह सुविधासम्पन्न रहेको सो गुम्बाले चुम उपत्यकाकै मान प्रतिष्ठा बढाएको उनले बताए ।

सबै फोटोहरु सौजन्य : छाङ लामा

 

प्रतिक्रिया दिनुहोस्