| सोमवार, कार्तिक २३, २०८३

रेडियो नेपालका २२ सालका कलाकार लालबहादुर गन्धर्व घ्याम्पेशालमा गुमनाम

 

शिव उप्रेती,
गोरखा(घ्याम्पेशाल) :

हजारमुरी धान हुने एउटा घोडा चढ्ने, गरीबले जग्गा मागे सनिसर्पन पर्ने,
काठमाडौंलाई ५० रोपनी पहाडलाई ८०, गरिब जनता खुशी हुन्थे जमिन बाँडेपछि ।
भूमिसुधार खुलाइपाम झट्ट, कोल्टेपाथी बेचेर चौपट्ट,
साहुले धान आसामी लाउँदैन, आफूखुशी ब्याज खान पाउँदैन ।

२०२८ सालको कुरा हो, तत्कालीन राजा महेन्द्रले भूमिसुधार योजना लागु गर्ने तयारी गर्दै थिए । उनको आदेश भुइँमा झर्न नपाउँदै लालबहादुर गन्धर्वले यो गीत गाए । उनको अद्भूत प्रतिभा देखेर राजा महेन्द्र प्रसन्न भए । आफूले सही प्रतिभा छानेर राजालाई भेटाएकोमा जनकविकेशरी धर्मराज थापा पनि गद्गद् भए ।

यस्तैयस्तै संस्मरणका धनी लालबहादुर अहिले गोरखाको भीमसेनथापा गाउँपालिका १, घ्याम्पेशालमा गुमनाम छन् ।

कलाप्रेमी राजा महेन्द्रले २०२२ सालमा देशभरका गन्धर्वलाई भेला गर्न रेडियो नेपाललाई आदेश दिएका थिए । आदेशानुसार जिल्लाका प्रहरीहरु गन्धर्व खोज्न घरदैलो गरे । गोरखाबाट पनि पाँच जना भेलामा सहभागी हुन पुगेका थिए । असारको महिना थियो, लुरे र रामबहादुर गन्धर्व पालुङ्टारबाट जहाज चढेर गए । वीरबहादुर, गर्वे र लालबहादुर गन्धर्व तीन दिन पैदल हिडेर काठमाडौं पुगे । त्यसदिन सोह्रखुट्टे पाटीमा बास बसे । भोलिपल्ट सोध्दै र खोज्दै उनीहरु रेडियो नेपाल पुगे । राष्ट्रिय नाचघरमा गन्धर्व सम्मेलन भयो ।

लालबहादुरका अनुसार पोखराका २६ जना, भोजपुरका चारजना र गोरखाका गरी ३५ जनाको भेला भएको थियो ।

उनले त्यतिबेला ‘घर त मेरो पहरे लामागाम, ज्यानको सलाम पु¥याउन कहिले आम, खरबारीको छेउ, याक चुरोट तिमी खाऊ गैँडा मलाई लेऊ’ भन्ने गीत गाएका थिए ।
त्यतिबेला उनीहरुले बजाएको सारंगीलाई राजा महेन्द्रले ‘राष्ट्रिय सारंगी’ भन्नू भनेका थिए ।

सो सम्मेलनमा सहभागी भएका पाँचजनामध्य अहिले उनी मात्र बाँकी छन् । उत्कृष्ठ भएकाले उनले रेडियो नेपालमा तीनसय रुपैयाँ तलब पाउने गरी जागिर पनि पाए । तलब चित्त नबुझेपछि पाँचबर्षपछि उनी त्यहाँबाट बाहिरिए । प्रज्ञा प्रतिष्ठानमा पनि केही समय जागिरे भए तर टिकेनन् ।
उनी आफै पनि ‘बाउको एक्लो छोरो भएर पुल्पुलिएर कहीँ पनि नटिकेको’ स्वीकार गर्छन् । धेरै अबसरहरु छोडेर गोरखा फर्किएको र गोरखाको दुईतले घर छोडेर घ्याम्पेशालकै एउटा कुनामा हराएकोमा उनलाई पनि प्रसस्तै पछुतो छ ।
राजा महेन्द्रको मन पर्ने कलाकार, रेडियो नेपालका कलाकार भनेपछि उनको संगत पनि ठूला मान्छेहरुसंग भयो । उनी पृथ्वीनारायण शाहको कर्खा, नब्बे सालको भुइँचालोको कर्खा, डाँफे र मुरलीको कर्खा पनि गाउँथे । तेञ्जिङ शेर्पाको कर्खा, राष्ट्रिय झण्डाको कर्खा, कुमालको कर्खा, अल्छीको कर्खा गाउने भनेपछि उनलाई सबैले मन पराए । ‘कर्खा गाउने भनेर माधव घिमिरेले धेरै माया गर्नुहुन्थ्यो, धर्मराज थापाले छानेर रेडियो नेपालमा राखेकाले उनी पनि साथी नै भइहाले । रोमबहादुर थापा आईजीपी साथी थिए । झलकमान बहिनी ज्वाईँ भए’, उनले भने, ‘नारायण दल गणका गणपति बोजेन्द्रबहादुर रायमाझीले गणमा भर्ति गरिदिए । त्यहाँ पनि दुईबर्ष मात्र काम गरेँ । लम्जुङ घर भएका आर्मीका सुवेदारले सामाखुशीमा एकरोपनी जग्गा दिन्छु यहीँ बस भनेका थिए । त्यहाँ पनि बसिएन । गोरखा बजारको दुईतले घर पनि छोडेर मातेर घ्याम्पेशालमा आएर बसेँ । पुर्खाले गरिआएको पेशा गरिआएको छु ।’ सारंगी बजाएर दुईचार पैसाको जोहो गरिहिँड्ने लालबहादुरलाई भेट्न थाहा पाउनेहरु बेलाबेला घ्याम्पेशाल पुग्छन् । तीनैमध्यका पोखराका अमृत गुरुङलाई सम्झेर उनी खुशी व्यक्त गर्छन् ।

जापानी सहयोगमा कसैले उनको गीत रेकर्डिङ ग¥यो । रायमाझीको रेकर्डिङ स्टुडियोमा दुईहजार थान एल्बम निकालेको पनि उनलाई राम्रै थाहा छ । तर उनलाई एक थान मात्र दिएर अरु कसले लग्योचाहिँ उनलाई थाहा छैन ।

उनले नौ बर्षदेखि सारंगी बजाउने पेशा सुरु गरेका हुन् । ‘राम्रो सारंगी बजान जान्यो भने यत्तिकोले छोरी पाल्न सक्छ भनेर कुटुम्बले छोरी दिइहाल्थे’, उनी भन्छन्, ‘कर्खा गाउने, माछा मार्ने यस्तै हो, हाम्रो पेशा ।’ बिहेअघि केटी माग्न गाउने गीत, ब्यहुली अन्माउने गीत गाएर पैसा कमाए । पुख्र्यौली पेशा गरेर उनले नौ भाइ छोरा हुर्काए पढाए । उनीहरुमध्य पाँच जना अहिले सरकारी सेवामा स्थायी नोकरी गर्छन् ।

अहिले उनका कुनै सन्तानले पनि ‘राष्ट्रिय सारंगी’ बजाउदैनन् । ७५ बर्षको बुढो ज्यानको रेखदेख अर्धाङ्गिनी गाजालीले गर्ने गर्छिन् । उच्च रक्तचाप, मधुमेह रोगका शिकार भइसकेकाले उनलाई पुराना यादजति धेरै भविष्यको माया छैन । ‘पुराना गीत मसंग जति कसैसंग पनि छैन । बुढो भइयो, स्वर पनि गयो, सारंगी बजाउन थाल्यो भने ज्यान काम्छ’, उनी भन्छन्, ‘हामी त डाँडाको जून भइहालियो । मैले जानेजति गीत छोराहरुले सिकेनन् । मेरा पुराना गीतहरु, सबै कर्खाहरु रेकर्ड गराएर राख्ने मन छ । तर सक्दिन ।’

प्रतिक्रिया दिनुहोस्